२०८३ असार ३ गते , बुधबार
ताप्लेजुङमा पहिरोले घर बगायो, एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते
जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् ।
पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो। यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँले जानकारी दिए। गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको वडाध्यक्ष चौलागाईले बताए।
गत बुधबार रातिदेखिको वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।