गाउँघरमा हराउन थाले ढिँकीजाँतो
लमजुङ । यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिँकीजाँतो लोप हुन थालेको छ । केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिँकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो । ढिँकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँगाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।
दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिँकी कुटेर र जाँतो पिनेरै जीवन बिताए पनि पछिल्लो समय लोपहुने अवस्था आएको बताइन् । ढिँकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोले परिवारलाई खुवाएर जीवन धान्दै आएको कुरा अब स्मरणमा सीमित भएको उनले बताइन् ।
दूधपोखरी गाउँपालिकाकी ८६ वर्षीय यमकुमारी गुरुङले पछिल्लो पुस्ताले चासो नदिँदा परम्परागत ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको बताइन् ।
विद्युतीय मेलमा एकमुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिँकीमा बिहानभरीमा पनि धान कुटी नसकिने भएकाले यहाँका स्थानीयले बाध्य भएर ती परम्परागत सामान प्रयोग गर्न छोडेको धेरैको बुझाइ छ ।