२०८१ असार ६ गते , विहीबार

'रोङ गट ट्यालेन्ट' प्रारम्भिक चरणको प्रतिभा छनौट शुरु

sajilo news
इलाम
२०८१ जेष्ठ २८ गते , सोमबार
'रोङ गट ट्यालेन्ट' प्रारम्भिक चरणको प्रतिभा छनौट शुरु

रोङ प्रतिभाको खोजी अन्तरगत रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रक्रिया शुरु भएको छ । इलामको रोङ गाउँपालिका भित्र रहेकाका प्रतिभाहरूको खोजी र पहिचान गर्ने उद्देश्यले गाउँपालिकाले गायन, नृत्य र कविता विधामा जेठ २७ गते आइतबारबाट रोङ गाउँपालिका वडा नं. ६ को वडा कार्यालयबाट प्रारम्भिक चरणको छनौट प्रक्रिया शुरु गरेको हो ।

रोङ प्रतिभाको खोजी निर्देशक समितिको आयोजना, रोङ गाउँपालिकाको आर्थिक सहयोग र रोङ विद्यार्थी एकता समितिको सह आयोजनामा शुरु भएको यस कार्यक्रमको प्रारम्भिक चरणको छनौट प्रक्रिया चार दिन रहने आयोजक समितिले जनाएको छ । जेठ २७ गते वडा नं. ६ को वडा कार्यालय, जेठ २८ गते वडा नं. ४ र ५ को वडा कार्यालय, जेठ २९ गते वडा नं. ३ को वडा कार्यालय र जेठ ३० गते वडा नं. १ र २ को वडा कार्यालयमा कार्यक्रम सम्पन्न हुने छ ।

फारम वितरणको आधारमा गाउँपालिका भरि फारम भर्नेको सङ्ख्या करिब तीन सय भन्दा बढी रहेको छ । पहिलो दिनको उत्साहजनक उपस्थिति सङ्ख्या हेर्दा कार्यक्रम सोचेअनुरूप भव्य रुपमा सम्पन्न हुने आयोजक समितिको अनुमान छ ।

कार्यक्रममा गायन विधामा करिब एक सय १२ , नृत्य विधामा करिब एक सय ५७ र कविता विधामा करिब ३९ जना प्रतिस्पर्धीहरूको सहभागिता रहेको छ । प्रारम्भिक चरणपश्चात् पहिलो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम त्यस्तै दोस्रो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम र तेस्रो चरणको प्रतिस्पर्धात्मक अर्थात् फाइनल कार्यक्रम रहने छ भने यस चरणहरूको तालिका छिट्टै प्रकाशन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न चरणको छनौट प्रक्रियाका लागि आयोजकद्वारा प्रत्येक विधाबाट दुई जना गरी जम्मा ६ जना निर्णायकहरूको व्यवस्था गरिएको छ । अन्तिम चरणमा गायन, नृत्य र कविता तीन वटै विधामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिभाहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने र सोही क्षेत्रमा केही नयाँ अवसर दिने आयोजक समितिले जनाएको छ ।

सम्बन्धित समाचार