२०८३ बैशाख २४ गते , विहीबार
पाँच लाख बढीको नक्कली नोटसहित दुई महिला पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया नीलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “काठमाडौँ कलङ्कीस्थित सेतो खरायो रेस्टुराँ नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा हाम्रो परिसरबाट खटिएको विशेष प्रहरी टोलीले निजलाई गए राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।”
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा नीलिमा श्रेष्ठको संलग्नता देखिएपछि निजलाई नागार्जुन–५ स्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।