अफगानिस्तानमा बाढी, तीन सयभन्दा बढीको मृत्यु
काबुल ।अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ।
अफगानिस्तानमा डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भने, ‘बघलान प्रान्तमा ३११ जनाको मृत्यु, दुई हजार ११ घर नष्ट भएको र दुई हजार आठ सय घर क्षतिग्रस्त भएका छन्।’
अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेलाई बचाउन प्रयास गरिरहेका छन्। शुक्रबारको भारी वर्षाले धेरै प्रान्तका गाउँ तथा कृषिभूमिमा पानी र लेदो बग्दा उत्तरी बघलान सबैभन्दा बढी प्रभावित भएको थियो। बघलानमा मात्रै ३ सयभन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ घर क्षतिग्रस्त भएको राष्ट्रसङ्घले बताएको छ।
सयौँ नागरिकले विनाशकारी बाढीमा परी ज्यान गुमाएको सरकारका प्रवक्ता जबिहुल्ला मुजाहिदले जनाएका छन्। शुक्रबारको वर्षाले उत्तरपूर्वी बदख्सान प्रान्त, मध्य घोर प्रान्त र पश्चिमी हेरातमा पनि ठूलो क्षति पुर्याएको अधिकारीहरूले बताए। आपत्कालीन कर्मचारीहरू घाइते र फसेका मानिसलाई बचाउन हतारिएका छन्। मानवीय हताहतका अतिरिक्त, बाढीले ठूलो आर्थिक क्षति पनि पुर्याएको छ।
वायु सेनाले शनिबार मौसम सफा भएपछि निकासी अभियान शुरु गरेको र सयौँ घाइतेलाई अस्पताल सारेको बताएको छ। बाढी प्रभावित क्षेत्रहरूमा आपत्कालीन अवस्था घोषणा गरेर राष्ट्रिय रक्षा मन्त्रालयले प्रभावितलाई खाना, औषधि र प्राथमिक उपचार वितरण गर्न थालेको छ।
सामाजिक सञ्जालमा देखिएको भिडियो फुटेजमा सेतो र कालो कपडाले ढाकिएका शवहरू र सडकमा माटो र पानीको दलदल देखाइएको छ। एउटा भिडियो क्लिपमा बच्चाहरू रोइरहेका सुनिन्छन् र मानिसको समूहले बाढीको पानी हेरिरहेका छन्, जसमा घरहरूबाट भाँचिएको काठ र भग्नावशेषको टुक्रा देख्न सकिन्छ।