२०८२ जेष्ठ ११ गते , शनिबार

सहकारीको बेथिति : कोशीमा ८१ करोड अपचलन, उजुरी पर्छ, कारबाही हुँदैन 

sajilo news
पत्रपत्रिका
२०८१ बैशाख २६ गते , बुधबार
सहकारीको बेथिति : कोशीमा ८१ करोड अपचलन, उजुरी पर्छ, कारबाही हुँदैन 

झापा । सङ्घीय सरकार मातहतका २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको कारबाही प्रक्रिया अघि बढाइरहँदा सातै प्रदेशमा दर्ता भएका सहकारीमा झन् ठुलो सङ्कट देखिएको छ । सातै प्रदेशमा दर्ता भएका सयौँ सहकारी सञ्चालकले कमजोर आर्थिक अवस्था रहेका हजारौँ नागरिकको बचत अपचलन गरेर फरार भएका छन् । 

सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सञ्चालकको सम्पत्ति रोक्का गरी बचतकर्ताको रकम फिर्ता गर्न कारबाही प्रक्रिया अघि बढाएका बेला प्रदेशहरूमा सहकारीको स्थिति झन् लथालिङ्ग देखिएको छ । 

सहकारीको अनुगमन प्रभावकारी छैन । केही प्रदेशमा त सहकारी रजिस्ट्रारको कार्यालय प्रदेश गठनको सात वर्षपछि सञ्चालनमा ल्याइएको छ । जसका कारण कति नागरिकको बचत, कति सहकारीले अपचलन गरेका छन् भन्ने विषयको लगत सङ्कलन पनि भएको छैन । लथालिङ्ग रहेका प्रदेश रजिस्ट्रार कार्यालयका कर्मचारी ‘अनुगमनमा जान कर्मचारी छैनन्, दैनिक कामकाज भ्याइनभ्याइ छ, केही गर्न सकिएको छैन’ भन्ने जवाफ दिन्छन् । 

सम्बन्धित प्रदेशका सहकारी रजिस्ट्रार कार्यालय प्रमुखले सहरी क्षेत्रमा सञ्चालित सहकारी सञ्चालकले सहकारीसम्बन्धी कानुनविपरीत लगानी गर्ने, जग्गा प्लटिङ, हाउजिङदेखि व्यक्तिगत सुखसुविधाका लागि प्रयोग गर्दा सहकारी धराशायी भएको जानकारी दिएका छन् । 

कोशीमा मात्रै ८१ करोड अपचलन

कोशी प्रदेशका पाँच वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार पाँच वटा सहकारीको ८१ करोड २५ लाख रुपियाँ हिनामिना भएको छ । उनले इटहरीको अम्बेकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकले ११ हजार बचतकर्ताको ६१ करोड रुपियाँ अपचलन गरेका बताए । उनका अनुसार २०८० मङ्सिरमा अम्बेकोशी सहकारीलाई समस्याग्रस्त घोषित गरिएका छ ।  रजिस्ट्रार खत्रीले खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दुई हजार बचतकर्ताको १३ करोड रुपियाँ अपचलन गरेपछि २०८० असोजमा समस्याग्रस्त घोषणा गरेर कारबाही अघि बढाइएको बताए । उनका अनुसार ओखलढुङ्गाको ककनी गैरीवन कृषि सहकारी संस्था लिमिटेडका एक हजार एक सय बचतकर्ताको एक करोड २५ लाख रुपियाँ अपचलन भएको छ । 

उनले झापाको बुद्धशान्ति नगरपालिकाको जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एक हजार बचतकर्ताको चार करोड रुपियाँ अनियमितता र अपचलन भएपछि बचतकर्ताको रकम फिर्ताका लागि कारबाही अघि बढाइएको बताए । झापाकै शुभ साइत बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट दुई हजार बचतकर्ताको दुई करोडभन्दा बढी बचत अनियमितता भएको छ । 

उजुरी पर्छ, कारबाही हुँदैन 

झापा बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अध्यक्ष दिपेन राउतले तीन करोड रुपियाँभन्दा बढी बचत रकम सहकारी ऐनविपरीत लगानी गरेको, पदाधिकारीलाई दुई वर्षसम्म बैठकमै सहभागी नगराएका सहित २०७८ मङ्सिर ३ गते कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा छानबिन गर्न उजुरी दिइयो । 

झन्डै अढाई वर्ष बित्दा पनि प्रभावकारी कारबाही भएको छैन । सहकारीका उजुरी दिने सदस्यका अनुसार आर्थिक अपचलनको विषय गुपचुप राख्न सञ्चालक समिति बैठक र साधारण सभामा पनि पदाधिकारीलाई रोक लगाइएको थियो ।  

रजिस्ट्रार खत्रीले उक्त सहकारीका अध्यक्ष राउतसहित विभिन्न २५ वटा सहकारीविरुद्ध उजुरी आएको बताए । उहाँले भने, “छानबिन र अनुसन्धान गरेका छौँ । बचतकर्ताको पैसा फिर्ता हुँदै छ । १७५ वटा सहकारीलाई जरिबाना गरिएको छ । पाँच सय वटा संस्था निगरानीमा छन् ।” 

उनका अनुसार कोशी प्रदेशमा एक हजार ८० वटा सहकारी प्रदेशमा दर्ता भएका छन् । उनले एक खर्ब ४५ अर्बभन्दा बढीको आर्थिक कारोबार ती सहकारीमार्फत भइरहेको बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित समाचार