भद्रपुरका कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण
भद्रपुर । भद्रपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई साना मेशिनरी औजार उपकरण वितरण गरेको छ । कृषि विकास शाखाले भद्रपुर १ नम्बर वडा कार्यालयमा मंगलबार आयोजित एक संक्षिप्त कार्यक्रम गरी त्यहाँका कृषकहरूलाई साना मेशिनरी औजार उपकरण वितरण गरेको हो ।
कृषि विकास शाखा सेवा केन्द्रले ४५ वटा मकै छोडाउने मेशिन, ३० वटा ज्याप पालन्टर, १०५ वटा सानो रोप्ने मेशिन, १०१ वटा नर्मल स्प्रे टंयाकी, ३३ वटा चार्जर टंयाकी र १२३ वटा टनेल वितरण गरेको हो ।
कृषकहरूलाई भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र १ नम्बर वडा अध्यक्ष रामप्रसाद अधिकारीले उपकरण वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख गणेश पोखरेलले नगरमा बजेटको आकार घट्दाघट्दै पनि अन्य क्षेत्रको बजेट कटौती गरेर पनि कृषि र पशुमा बजेट बढाएको बताए ।
कृषकलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले यस पटक नयाँ–नयाँ कार्यक्रम ल्याएको बताउँदै उनले भने, ‘कृषक र कृषिलाई आयआर्जन र रोजगारीसँग जोड्ने मुख्य उद्देश्य हो ।’ कृषि र पशुका कार्यक्रमहरू जनस्तरसम्म अझै पुग्न सकेको छैन र गुनासाहरू पनि आइरहेको छ । वडा कार्यालयहरूले टोल विकास संस्थाहरूसँग सहकार्य गरेर जनस्तरसम्म सूचना प्रवाह गर्नुपर्ने उनको भनाई छ । अनुदानमा प्राप्त उपकरणहरू कृषकले सही रुपमा सदुपयोग गरी अघि बढे मात्र कृषि क्षेत्रमा क्रान्ति ल्याउन सकिने उनको धारणा छ । त्यस्तै उपप्रमुख कार्कीले भारतबाट आयातित बिषादीयुक्त अन्नबाली रोक्न नगरले कृषि क्षेत्रमा लगानी गरेको बताइन् ।
बिषादीयुक्त अन्नबालीले मानव जीवनको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकोले यसतर्फ पनि कृषकले ध्यानदिनु पर्ने उनको भनाई छ । वडा अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखाका सुमन बिमलीले कार्यक्रमको सञ्चालन गरेका थिए ।