भारतको पश्चिम बङ्गालमा आँधीका कारण पाँच जनाको मृत्यु
नयाँ दिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
आँधी जलपाईगुडी जिल्लाका विभिन्न भागमा आइतबार आएको थियो । आँधीले जलपाइगुडी शहर र छिमेकी मैनागुरीका धेरै क्षेत्रका धेरै घरहरूमा क्षति पुर्याएको छ र रूखहरू उखेलेको छ ।
“आँधीका कारण पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका छन्,” एक अधिकारीले भने । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीका अनुसार जिल्ला प्रशासन, प्रहरी, विपद् व्यवस्थापन अधिकारी र द्रुत प्रतिकार्य टोलीहरू उद्धार र राहत प्रदान गर्न सक्रिय भएका छन् ।
उनले प्रभावितलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । जलपाईगुडीबाट प्राप्त समाचारअनुसार हावाहुरीसँगै आएको असिनापानीले ८०० घरमा क्षति पुर्याउनुका साथै रूख तथा बिजुलीका खम्बाहरू उखेलेको छ ।
आँधीको असर जलपाईगुडीका छिमेकी जिल्लाहरू कूचबिहार र अलिपुरद्वारमा पनि महसुस गरिएको थियो । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार जलपाईगुडी जिल्लामा स्थानीय समयअनुसार आइतबार अपराह्न ३ः३० बजेतिर आँधी आएको थियो र यो करिब १० मिनेटसम्म चलेको थियो ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले टिस्टा नदी क्षेत्रबाट ठूलो आवाजसहित शुरु भएको आँधीका कारण रूखहरू ढलेका र धेरै घरहरूमा क्षति पुर्याएको उल्लेख गरेका छन् ।