पेरुका राष्ट्रपति बोलुआर्टेको घरमा छापा
लिमा । भ्रष्टाचारको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन् । एएफपीले प्राप्त गरेको प्रहरी दस्तावेजानुसार, बोलुआर्टेले घोषणा नगरेका रोलेक्स घडीको खोजी गरिरहेको उक्त छापामा करिब ४० अधिकारी परिचालन गरिएको छ । प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्यले’ छापा मारेको पुष्टि गरेको छ ।
बोलुआर्टेले विदेशी उत्पादनको विलासी घडी लगाएको बारेमा रिपोर्ट प्रकाशन गरेपछि अधिकारीहरूले यस महिनाको सुरुमा अनुसन्धान थालेका थिए । तर, यसलाई सार्वजनिक रूपमा घोषणा गरिएको थिएन । प्रहरी र अभियोजकको कार्यालयबीचको संयुक्त अभियान शनिबारको छापा स्थानीय टेलिभिजन च्यानल ल्याटिनामा प्रसारण गरिएको थियो ।
सन् २०२२ डिसेम्बरमा पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोले कंग्रेस भंग र आदेशका भरमा शासन गर्ने प्रयास गरेपछि बोलुआर्टेले राष्ट्रपतिको जिम्मेवारी पाएका थिए । रासस/एएफपी