२०८३ असार १ गते , सोमबार

झापा गोल्डकपमा प्रयोग भएका सामग्री नगरपालिकालाई हस्तान्तरण

sajilo news
झापा
२०८० चैत्र ९ गते , शुक्रबार
झापा गोल्डकपमा प्रयोग भएका सामग्री नगरपालिकालाई हस्तान्तरण

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा गत फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको झापा गोल्डकपका क्रममा प्रयोग भएका विभिन्न सामग्री बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

मोफसलको सर्वाधिक लोकप्रिय झापा गोल्डकप सफल बनाउन बिर्तामोड नगरपालिका क्षेत्रमा प्रयोग गरिएका विद्युतीय उपकरण, फोहोर फाल्न प्रयोग गरिने डस्विन र सजावटका लागि प्रयोगमा ल्याइएका फूल सहितका गमला नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालाई झापा गोल्डकपले प्रयोगमा ल्याएको सामग्री हस्तान्तरण गरेका हुन् ।

शुक्रवार नगरपालिका पुगेर झापा गोल्डकपका अध्यक्ष बस्नेत, महासचिव गजेन्द्र पौडेल, किरण श्रेष्ठ सहितको टोलीले मुक्ति चोकदेखि रङ्गशालासम्म पुग्ने सडकमा जडान गरिएका २२५ पोलमा रहेका विद्युतीय लाइट सहित ८० वटा डस्विन , फूल सहितको ५५ वटा गमला नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

भौतिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्न आग्रह गर्दै  अध्यक्ष बस्नेतले उपप्रमुख सङ्ग्रौलालाई आग्रह गरे । झापाली फुटबल प्रेमी दर्शकको अपार माया र सद्भाव सहित सम्पन्न झापा गोल्डकपले बिर्तामोड नगरपालिकालाई मात्र नभई समग्र झापा जिल्ला लाई नै चिनाएको भन्दै उक्त समयमा प्रयोग भएका सजावटका सामग्री सहित रङ्गशालाको संरक्षण र सम्वद्धन दायित्व नगरपालिकाको भएको अध्यक्ष बस्नेतको भनाई छ ।

झापा गोल्डकपले प्रदान गरेका सामग्री ग्रहण गर्दै उपप्रमुख सङ्ग्रौलाले गोल्डकपले प्रदान गरेका सामग्रीको संरक्षण अब नगरपालिकाले गर्ने बताए । उनले नगरका विभिन्न क्षेत्रमा आवश्यकताका आधारमा उक्त सामग्रीहरूलाई प्रयोगमा ल्याइने प्रतिबद्धता समेत जनाएका छन् । 

सम्बन्धित समाचार