२०८३ बैशाख १५ गते , मंगलबार

झापा लिग : बुद्धशान्ति र मेचीनगर विजयी

sajilo news
झापा
२०८० मंसीर १० गते , आईतबार
झापा लिग : बुद्धशान्ति र मेचीनगर विजयी

भद्रपुर । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिकाले झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शानदार जित दर्ता गरेको छ ।

आज भएको पहिलो खेलमा हल्दिबारी गाउँपालिकालाई ५–० गोल अन्तरले हराउँदै बुद्धशान्ति गाउँपालिका आफ्नो समूहमा सशक्त टिम बनेको छ । जारी लिगमा आजसम्म यो नै ठुलो गोल अन्तरको जित हो ।

त्यस्तै, आजको दोस्रो खेलमा मेचीनगर नगरपालिका विजयी भयो । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराएको हो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा जितसँगै बुद्धशान्ति र मेचीनगरले तीन/तीन अङ्क जोडेका छन् ।

खेलको २५ औँ, ६४ औँ, ६९ औँ र ७२ औँ मिनेटमा बुद्धशान्ति गाउँपालिकाका बबिन बोहोराले गोल गरे । बबिन जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । त्यस्तै, खेलको ४५ औँ मिनेटमा पारस लिम्बूले अर्को गोल गरे ।

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सरिता प्रसाईँ, प्रमुख सल्लाहकार टिकाराज ढकाल, सौजन्यकर्ता लोकबन्धु ढुङ्गानाले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैबीच, आज भएको दोस्रो खेलमा मेचीनगरले भद्रपुर नगरपालिकालाई १–० गोल अन्तरले हरायो । मेचीनगरको तर्फबाट खेलको दोस्रो मिनेटमा अजय राजवंशीले गोल गरे ।
खेलको प्लेयर अफ दि म्याच मेचीनगरका सिमान्त थापा भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, मेचीनगरका नगरप्रमुख गोपादचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल, सौजन्यकर्ता झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरे ।
फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितामा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

सम्बन्धित समाचार