कोहलीको शतकमा भारतले बंगलादेशलाई हरायो
आइसीसी एक दिवसीय विश्वकपमा भारतले लगातार चौथो जित हात पारेको छ। पुणेमा भएको बंगलादेशविरुद्धको खेलमा भारतले ७ विकेटको जित हात पारेको हो। बंगलादेशले दिएको २५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो।
भारतको जितमा विराट खोलीले १०३ रनको अविजित पारी खेलेका छन्। ९७ बलमा उनले ६ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै केएल राहुलले अविजित ३४ रनको योगदान दिए।
भारतका लागि शुभम गिलले ५३, कप्तान रोहित शर्माले ४८ र श्रेयस लयरले १९ रन बनाएर पेभेलियन फर्किएका थिए। यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर २५७ रन बनाएको थियो। बंगलादेशका लागि लिटन दासले सर्वाधिक ६६ रन बनाए। त्यस्तै तन्जिद हसनले ५१, महुमुदुल्लाहले ४६, मसुफिकर रहिमले ३८ रन बनाए। पहिलो खेलमा जित दर्ता गरेको बंगलादेश त्यसयता तीन खेलमा पराजित भएको छ।