बिर्तामोडमा म्याद गुज्रेका सामान बिक्रीमा
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर– ३ को बिर्ताबजारमा अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको नेतृत्वमा आज खाद्यान्न तथा मासु पसलहरूको अनुगमन गरिएको हो । अनुगमनमा केही म्याद नाघेका पेय पदार्थ फेला परेको थियो । अर्विन आछामेले सञ्चालन गरेको अम्बिका किराना पसलमा भारतीय ब्रान्डको केही थान ‘निम्बू फ्रेस’ म्याद नाघेको तर बिक्रीका लागि राखिएको फेला परेको थियो । अनुगमन टोलीले म्याद नाघेको अखाद्य वस्तु जफत गरी आगामी दिनमा यस प्रकारको गल्ती नदोहोराउन सचेत गराएको छ ।
यस्तै गणेश फ्रेस हाउस दुर्गन्धित रहेको पाइएकोले सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ । अनुगमनका क्रममा अधिकांशले नगरमा व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको र मूल्य सूची ठिक ठाउँमा नराखेको फेला परेको थियो । उनीहरूलाई नगरपालिकामा आवश्यक कागजातसहित ३ दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ । नगर उपप्रमुख सङ्ग्रौलाले अनुगमनलाई नियमित गरिने जानकारी दिए । जनताको स्वास्थ्यलाई असर गर्ने अखाद्य वस्तु विक्री नगर्न उनले सबैलाई आग्रह गरे । नगर उपप्रमुख सङ्ग्रौलाले बजारमा अखाद्य वस्तु बेचेको प्रमाणसहित सुराकी गर्नेलाई नगद ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने पनि बताए ।
बजार अनुगमनमा कार्यपालिका सदस्य तिला गौतम, सङ्गीता सिवा, वडा नम्बर ३ का वडा सदस्य हरि बांस्कोटा, नगरका राजस्व शाखा प्रमुख पदम घिमिरे , बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य गुन्जन प्रसाईँलगायत जनप्रतिनिधि तथा नेपाल प्रहरी र नगर प्रहरीको सहभागिता रहेको थियो ।