२०८३ असार ११ गते , विहीबार

अपराध अनुसन्धानमा प्रहरीको भूमिका महत्त्वपूर्ण : झापा सिडिओ पोखरेल

sajilo news
झापा
२०८० आश्विन ३० गते , मंगलबार
अपराध अनुसन्धानमा प्रहरीको भूमिका महत्त्वपूर्ण : झापा सिडिओ पोखरेल

झापा। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अपराध अनुसन्धानमा प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।६८ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले व्यक्तिगत विषयलाई लिएर संगठनलाई मुछ्न नहुने बताए । प्रजिअ पोखरेलले नेपाल प्रहरी गर्बिलो इतिहास बोकेको संगठन भएकाले यसलाई अझ व्यवस्थित र मर्यादित बनाउनुपर्ने बिचार व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पोखरेलले झापामा अपराध नियन्त्रणका लागि प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरे ।

व्यावसायिक सफलताका लागि सबै राजनीतिक दल, जनप्रतिनिधि,संघसंस्था, पत्रकार, तथा आम नागरिकको महत्त्वपूर्ण भूमिका रहने भएकाले प्रहरीलाई सकारात्मक सहयोग गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

६८ वर्ष लामो इतिहास बोकेको नेपाल प्रहरी हरेक नागरिकमा सुख दुःखको साथी भएकाले केही व्यक्तिगत त्रुटिलाई लिएर सिङ्गो संगठन माथि दोष लगाउन नमिल्ने उल्लेख गरे । झापाको शान्ति सुरक्षाका लागि सबैको साथ र सहयोग रहेको भन्दै प्रहरी उपरीक्षक रेग्मीले आगामी दिनमा पनि सबैको साथ रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अमर प्रहरी परिवारलाई सम्मान गरिएको थियो । त्यस्तै प्रहरीलाई सहयोग पु¥याउने विभिन्न संघ संस्थालाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

८५ वर्ष भन्दा माथिका ज्येष्ठ पूर्व कर्मचारी मेची नगर निवासी पूर्व प्रहरी हवल्दार ८९ वर्षीय वीर्ख बहादुर गुरुङलाई प्रहरी उपरीक्षक रेग्मीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा अमर तथा सहिद परिवारका सदस्यलाई जिल्ला प्रहरी श्रीमती संघकी अध्यक्ष बिन्दु विमली रेग्मीले दोसल्ला ओढाई सम्मान गरेकी थिइन् ।

त्यस्तै कोहवरा चौकी निर्माणका लागि जग्गा प्रदान गर्ने दाता रवीन्द्र ताजपूरायालाई सम्मा गरिएको थियो भने ६८ औं प्रहरी दिवसका अवसरमा आयोजित विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुनेहरूमा सरस्वती माध्यमिक विद्यालयकी छात्रा प्रगति दाहाल, लालिमा आवासीय विद्यालयकी छात्रा सलुजा पोखरेल, महेन्द्र माध्यमिक विद्यालयकी छात्रा तृष्णा भट्टराई रहेका छन् ।

यता सामुदायिक सेवा केन्द्र भद्रपुरकी अध्यक्ष शिला खड्कालाई सम्मान गरिएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त कुँवरले दिएको शुभकामना सन्देश इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीले वाचन गरेका थिए भने कार्यक्रममा स्वागत जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले गरेका थिए । 

सम्बन्धित समाचार