महेश बस्नेतको कार्यक्रममा प्रसाईँका कार्यकर्ताले गाडी तोडफोड गरेको दाबी, एक जना पक्राउ
झापा । झापाको अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा सवारीसाधन तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विक्रम लिम्बू रहेका छन् । उनी बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँका कार्यकर्ता भएको बताइएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेत आएको राष्ट्रिय युवा संघको कार्यक्रम भाँड्न नसकेपछि प्रसाईँका कार्यकर्ताले पार्किङ गरी राखिएका गाडी तोडफोड गरेको दाबी गरिएको छ ।
यसअघि काठमाडौँमा आफूमाथि महेश बस्नेतकै उक्साहटमा मोसो दलेको आरोप लगाउँदै प्रसाईँले त्यसको बदला लिने चेतावनी दिएका थिए । बस्नेतको कार्यक्रमको विरोध गर्न पहिचानवादीहरू पनि गएका थिए । आफूहरू तोडफोडमा नउत्रिएको १ नं प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले बताए । ‘हाम्रो कार्यक्रम शान्तिपूर्ण थियो, हामीले कालो झन्डा देखाएका हौँ ’उनले भने, ‘हामी शनिश्चरे माविभन्दा अगाडि बढेनौँ , तोडफोडमा पनि गएनौँ ।’
कार्यक्रम बिथोल्न नसकेपछि कार्यक्रममा सहभागी हुन आएका र सर्वसाधारणका गाडीमाथि रिस पोखेका थिए । कोही नभएको मौका छोपी पार्किङमा राखिएका गाडीमा तोडफोड गरी उनीहरू भागेका थिए । कार्यक्रम स्थलका अढाई दर्जन बढी सवारीसाधनमा तोडफोड गरेका छन्। सडक किनारमा पार्किङ गरी राखिएका १३ वटा चार चक्के सवारीसाधन र करिब १५ वटा मोटरसाइकलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।