दुर्गा प्रसाईँमाथि भएको दुर्व्यवहारको विरोधमा बिर्तामोडमा प्रदर्शन
राजधानीको कान्तिपथस्थित होटल यल्लो प्यागोडामा व्यवसायी दुर्गा प्रसाईँमाथि भएको दुर्व्यवहारको विरोधमा बिर्तामोडमा प्रदर्शन गरिएको छ ।
होटलमा कार्यक्रम गरेर बाहिर निस्कने क्रममा उनलाई मोसो दलिएको थियो । उनीमाथि भएको दुर्व्यवहारप्रति विरोध जनाउँदै बिर्तामोडमा उनका समर्थकहरू सडकमा उत्रिएका हुन् । उनीहरूले नेकपा एमालेका नेता महेश बस्नेतको निर्देशनमा प्रसाईँमाथि आक्रमण भएको आरोप लगाएका छन् । उनीहरूले नेकपा एमालेका अध्यक्ष केपी ओली, युवा संघका अध्यक्ष क्षितिज थेबे र नेकपा एमालेविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
बिर्तामोडको सिटी सेन्टरबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेर मुक्ति चोकमा कोणसभा गरेको थियो । कोणसभामा उनीहरूले प्रसाईँमाथि गरिएको दुर्व्यवहारको चर्को विरोध गरेका छन् । उनीहरूले दोषीको पहिचान भइसकेकाले अविलम्ब पक्राउ गरी सशक्त कारबाही गर्न माग गरेका छन् । यदि राज्यले कारबाही नगरे जनकारबाही गरिने उनीहरूको चेतावनी रहेको छ ।