सीमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी चेकिङ
मोरङको विराटनगर रानी स्थित सीमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाइका साथ चेकजाँच शुरु गरिएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सीमावर्ती इलाकामा तालिम प्राप्त कुकुरसहित थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो ।
कोशी प्रदेशको मुख्य नाका रहेको विराटनगरको जोगवनी तथा आसपासको सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागू औषध ओसार पसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोलीद्वारा सीमा नाकामा आवत जावत गर्ने शङ्कित व्यक्तिहरू तथा सवारी साधनहरूलाई कडाइका साथ चेकजाँच गरिँदै आएको छ ।
उसैबिच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह (पीआईटी) बाट खटिएको प्रहरी टोलीले अवैध समान बरामद गरी भन्सार कार्यालय बुझाएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–६ मा भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याएर राखेको अवस्थामा अन्दाजी एक लाख ९६ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका लत्ता कपडाहरू बरामद गरेको हो ।
अवैध रुपमा बरामद भएको समान आवश्यक कारबाहीको लागी विराटनगर भन्सार कार्यालय बुझाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।