भद्रपुरमा राजयोग सम्बन्धी प्रशिक्षण
भद्रपुर । अहिले मानिसहरूको जीवनशैली निकै अस्त–व्यस्त भएको देखिन्छ । विभिन्न कारणले मानिसहरू तनावका बीच आफ्नो दैनिकी चलाइरहेका छन् । आर्थिक, घरायसी र व्यावहारिक कारणहरूले मानिसमा तनावको स्थिति छ । यो अवस्थाले कुनै एक परिवार मात्र होइन, सिङ्गो समाज नै प्रभावित भइरहेको छ ।
यो अवस्थाको निराकरणका विभिन्न किसिमबाट प्रयासहरू पनि भइरहेको पाइन्छ । विभिन्न संघ–संस्थाहरूले योग, ध्यान, प्रशिक्षणहरूका माध्यमबाट मानिसको तनाव न्यूनीकरण गर्ने प्रयास गर्दै आइरहेका छन् ।
यसैक्रममा, झापाको भद्रपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र चन्द्रगढीको आयोजना र भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा मञ्च र भद्रपुर मारवाडी महिला मञ्चको संयुक्त व्यवस्थापनमा एक दिने ‘सकारात्मक सोचद्वारा तनावमुक्त जीवनका लागि राजयोगको महत्त्व’ विषयक प्रवचनात्मक प्रशिक्षण कार्यक्रम गरिएको छ ।
विभिन्न क्षेत्रको प्रतिनिधिमूलक सहभागितामा भद्रपुरको सिटी गार्डेनमा केन्द्रकी शोभा दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक विजयराज सिग्देलले रोज योगद्वारा तनावमुक्त जीवन जिउने कला र अभ्यासहरूका बारे प्रशिक्षण दिएका थिए । उनले अत्याधुनिक प्रविधिको विकास र आधुनिक जीवनशैलीले मानिस रोबोटजस्तो भइसकेको भन्दै स्वस्थ जीवनका लागि योग र व्यायामको महत्त्व बढ्दै गएको बताए । उनले योगका विधि र प्रक्रियाहरूका बारे जानकारी गराएका थिए ।
केन्द्रकी शान्ति दिदीले स्वागत गरेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका रुपमा भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवालाले गरेका थिए ।