राजवंशी समाज विकास समिति झापाको अध्यक्षमा नौतली
राजवंशी समुदायको पहिचान जोगाई राख्न झापामा भारत र नेपालका सयौँ राजवंशी समुदायका व्यक्तित्वहरूको उपस्थितिमा राजवंशी समाज विकास जिल्ला समिति गठन गरिएको छ । राजवंशी समाज विकास समितिको जिल्ला अधिवेशनले शनिबार १७ सदस्य जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
नव निर्वाचित समितिको अध्यक्षमा नौतली राजवंशी, उपाध्यक्षमा प्रवीण राजवंशी र विनीता राजवंशी, सचिव देवचरण राजवंशी, कोषाध्यक्ष बैजनाथ राजवंशी, सहसचिव कृष्णकली राजवंशी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सुषमा राजवंशी, तीर्थ राजवंशी, दुर्गाचरण राजवंशी, पदम राजवंशी , जितनलाल राजवंशी , चानवती राजवंशी ,दीपेश राजवंशी , टेनुलाल राजवंशी , हरदेव राजवंशी ,सविना राजवंशी र रूपक राजवंशी चयन भएको निर्वाचन समिति संयोजक प्राज्ञ पवन राजवंशीले जानकारी दिए ।
कनकाई नगरपालिका ९ स्थित कोच राजवंशी सङ्ग्रहालय घैलाडुबाको भवनमा झापाका १५ वटै पालिकाका ३ सय बढी, भारत दार्जिलिङ जिल्लाका एक सय ५० राजवंशी समुदायका व्यक्तित्व तथा कुचबिहारका राजवंशी समुदायका राजा माहा राजा श्री श्री अनन्त रायका ५० जना नारायणी सेनाहरूको उपस्थित रहेको थियो । नेपाल आदिवासी जनजाति महासंघ परिषद् सचिवालय काठमाडौँ उपमहासचिव रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा राजवंशी समाज विकास समिति झापा जिल्ला अधिवेशन आयोजक समितिका संयोजक नौतली राजवंशीले अधिवेशनको अध्यक्षता गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा समाज सेवाका क्रममा जग्गा दान गरेका कचनकवल, बाह्रदशी र बिर्तामोड नगरपालिकामा जग्गा दान दिने जग्गादाताहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमकै बीच गायक प्रमोद राजवंशी, राम राजवंशी, गायिका पीँकी राजवंशी, उर्मिला राजवंशीको स्वर, सङ्गीतकार गङ्गा राजवंशीको सङ्गीत र राजासाहेव राजवंशीको शब्द रचना रहेको राजवंशी भाषाको राष्ट्रिय गान पनि विमोचन गरिएको राजवंशी समाज विकास सहितका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । यसैबीच आफ्नो विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका नेकपा एमालेका युवा नेता असारु राजवंशीलाई पनि उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा भारतबाट आएको सुपरना नाचोनी गुस्टी नामक नृत्य टोलीले एकै पटक १३० जनाको सामूहिक स्वागत नृत्य प्रस्तुत गरेको थियो । साथै कार्यक्रममा विभिन्न जातीय सांस्कृतिक नाच गानहरू पनि प्रस्तुत गरिएको थियो । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन दीपेश राजवंशीले गरेका थिए ।