वैदिक साकोसको १२ औं सभा सम्पन्न
भद्रपुर । भद्रपुर- १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान, रिक्त पद पूर्ति तथा वार्षिक प्रगति विवरण पेस लगायत विविध गतिविधिका साथ सभा सम्पन्न गरिएको हो ।
उपाध्यक्ष डिल्लीराम अधिकारी तथा कोषाध्यक्ष मञ्जु खतिवडाले संयुक्त सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष निरौलाले संस्थाको वार्षिक प्रगति विवरण पेस गर्दै २३१ महिला, ३०४ पुरुष र ५ संस्था गरी ५४० शेयर सदस्य तथा ४१ लाख २६ हजार शेयर पुँजी विवरण प्रस्तुत गर्दै नीति कार्यक्रम पेस गरेका थिए ।
उत्कृष्ट सञ्चालक सम्मानबाट उपाध्यक्ष डिल्लीराम अधिकारी, उत्कृष्ट बचत कारोबार सम्मानबाट आकाँंक्षा पाठक र उत्कृष्ट ऋण कारोबार सम्मानबाट पृथ्वीबहादुर मगर र ज्येष्ठ सदस्य सम्मानबाट वेणुप्रसाद बराललाई सम्मान गरिएको कार्यक्रममा कोषाध्यक्ष मञ्जु खतिवडाले वार्षिक आर्थिक गतिविधि पेस गर्दै दुई करोड १५ लाख ३१५ रूपैयाको वार्षिक कारोबार तथा सञ्चालन मुनाफा पाँच लाख ८३ हजार ३०७ रूपैयाको वार्षिक प्रगति पेस गरेकी थिइन् ।
उपाध्यक्ष अधिकारीले स्वागत गरेको कार्यक्रममा भद्रपुर सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेको सभाले बाँकी कार्यकालका लागि रिक्त सचिव पदमा विदुर ढुङ्गानालाई सर्वसम्मत नियुक्त गरेको थियो ।