२०८३ असार ११ गते , विहीबार
सिक्किममा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो , ९८ जना अझै बेपत्ता
भारतको सिक्किम राज्यको उत्तरी क्षेत्रमा रहेको ल्होनाक ताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजङ्घालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ। त्यो ताल बुधवार राती ११ बजे विस्फोट भएको थियो ।
त्यस्तै २२ सैनिकसहित ९८ जना अझै बेपत्ता छन् । बाढीबाट २२ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । २६ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ । त्यहाँ पानीको सतह १५ मिटरभन्दा माथि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीबाट घरमै थुनिएका र फसेकाहरूको उद्धार कार्य तीव्र पारिएको छ । उद्धार टोलीले सैनिक सवार सवारीसाधनहरू क्षतिग्रस्त अवस्थामा फेला पारे पनि बेपत्ता सैनिकहरू अझै फेला परेको छैन ।