कर्मयोग भवनको जग्गा खरिदका लागि सहयोग आह्वान, बस्नेतले दिए अढाई लाख
बिर्तामोड झापाको बिर्तामोड नगरपालिका-४ मेघाबारी टोलमा निर्माण हुने कर्मयोग भवनका लागि बिर्तामोड-३ निवासी समाजसेवी नन्दकुमार बस्नेतले दुई लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । बस्नेतले स्वर्गीय श्रीमती कृष्णमाया बस्नेतको स्मृतिमा कर्मयोग भवनलाई १ धुर जमिन खरिद गर्न उक्त रकम सहयोग गरेका हुन् ।
कृष्णमायाको ६ महिना अघि क्यानडामा रहेका छोराबुहारी भेट्न जाने क्रममा क्यानडाको एयरपोर्टमा मृत्यु भएको थियो । बस्नेतले मानिसले मरेर जाँदा केही नलाने तर कृति आजीवन रहने भएकाले कर्मयोग भवनका लागि सहयोग गरेको बताए । आफ्नै ठाउँमा पुण्य कर्म गर्न पाउँदा खुसी लागेको उनको भनाई छ ।
बस्नेतलाई कर्मयोग भवन निर्माणको अगुवाइ गरिरहेको श्री सिद्धि विनायक भजन कीर्तन मण्डलीले सम्मान गरेको छ । बुधबार बिहान श्री सिद्धि विनायक मन्दिर परिसरमा प्रशंसा पत्र र खदाले बस्नेतलाई सम्मान गरिएको थियो । कीर्तन मण्डलीकी अध्यक्ष गीता पोखरेल, संयोजक शिवाकोटी र स्थानीयवासीले बस्नेतलाई सम्मान गरेका थिए ।
गत फागुनमा लगाइएको पुराणबाट संकलित रकमबाट १३ धुर जग्गा बहुउद्देश्यीय सामुदायिक भवनका लागि खरिद गरिएको र बाँकी रकमबाट कर्मयोग भवन निर्माणका लागि सवा १६ धुर जमिन बैना गरिएको शिवाकोटीले बताइन् । शिवाकोटीका अनुसार उक्त जग्गा पास गर्न करिब ३० लाख रुपैयाँ रकम अपुग छ । भवनको भौतिक संरचना निर्माणका लागि तीनै तहका सरकारबाट सहयोग हुने भए पनि जग्गा खरिद दाताहरूकै सहयोगमा गर्नु पर्ने भएकाले जग्गा खरिदका लागि सहयोग गरिदिन दाताहरूलाई संयोजक शिवाकोटीले आग्रह गरिन् ।