दमकको धुलाम्मे सडक मर्मत नगरे व्यवसायीले पसलको चाबी नगरपालिकालाई बुझाउने
दमक । नेपाल उद्योग तथा व्यवसायी महासंघ दमक नगर कमिटीले झापाको दमकस्थित मुख्य बजार क्षेत्रमा ढल बनाउँदा भत्काइएको सडक वर्ष दिन बित्दा समेत नबनाएका कारण व्यवसायी र उपभोक्ता मारमा परेको बताउँदै सडक मर्मत सम्भारको काम तत्कालै नभए नगरपालिकालाई व्यवसायीले चाबी बुझाउने अवस्था आउने भन्दै नगर प्रमुख रामकुमार थापाको ध्यानाकर्षण गराएको छ ।
चाडपर्वको समयमा हुनसक्ने लुटपाट तथा चोरीका घटना नियन्त्रणका लागि पुराना बिग्रेका सिसि क्यामेरा मर्मत र थप नयाँ जडान गर्न, दमकको नमुना बजारको व्यवस्थापनमा चासो दिएर तत्कालै काम गर्न समेत ध्यानाकर्षण गराएको हो ।
सोमबार महासंघका प्रदेश कमिटी सदस्य विमल खतिवडा, नगर अध्यक्ष रमेश लुइँटेल सहितको टोलीले सडक मर्मत सम्भार नभए पीडित व्यापारीले पसलको चाबी नगरपालिकालाई बुझाउनु पर्ने अवस्था आउने चेतावनी दिएको छ ।
पशु हाटदेखि फाल्गुनन्दचोक र फाल्गुननन्द चोकदेखि हि.मा.वि स्कुलसम्मको सडक भत्काएर तत्कालै बनाउने भनिएको पनि लामो समयसम्म नबन्दा व्यवसायीहरू यसबाट धेरै नै पीडित बनेको महासंघका प्रदेश सदस्य विमल खतिवडाले बताए । उनले यसका लागि नगरपालिकाले पहल गरेर व्यवसायीहरुको पिर मार्का बुझ्न आग्रह गरे ।
महासंघका नगर कमिटी अध्यक्ष रमेश लुइँटेलले नमुना बजारको व्यवस्थापनका लागि यसभन्दा अघि पनि वडा नं. ६ को ध्यानाकर्षण गराएको बताउँदै यसको व्यवस्थापनका लागि आग्रह गरेका छन् । उनले यो दमकको पहिचानको रुपमा रहेकाले यसको व्यवस्थापन तत्काल गर्न माग गरेका छन् ।
सो अवसरमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सडक मर्मत सम्भार र निर्माणको काम तत्कालै सुरु गराउने र यसका लागि आफूले बारम्बार पहल गरेको जनाए । यो विषय अहिले बजार निस्कनसाथ सबैले भन्ने गरेको स्मरण गर्दै उनले आजैबाट यसको काम सुरुवात गरिने पनि बताए । आज देखि नै काम सुरु गर्न भनेका छौ र सायद काम सुरु भइसक्यो होला, उनले भने ।
कतिपयले नमुना बजार मास्न पनि माग गरेको बताउँदै यसको व्यवस्थापन गर्न माग राखेको प्रति उनले खुसी प्रकट गरे । करोडौँ लागतमा बनाइएको नमुना बजारको सुन्दरता नै मास्नका लागि पनि माग आएको छ, उनले भने । वडा कार्यालयले समेत यस्तो माग रहेको भन्दै नगरपालिकालाई जानकारी गराएको उनले खुलासा गरे ।