२०८३ असार ११ गते , विहीबार

बिर्तामोडका सिसि क्यामेरा कामै नलाग्ने, चाडबाड नजिकिँदै गर्दा सुरक्षामा चुनौति

sajilo news
झापा
२०८० आश्विन १३ गते , शनिबार
बिर्तामोडका सिसि क्यामेरा कामै नलाग्ने, चाडबाड नजिकिँदै गर्दा सुरक्षामा चुनौति

झापाको मुख्य व्यापारी केन्द्र बिर्तामोडका विभिन्न स्थानमा जडान गरिएका सिसि क्यामेरा बिग्रिएर कामै नलाग्ने भएका छन् । करिब एकतिहाई सिसि क्यामेरा काम नलाग्ने भएपछि सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ । कनकाई नगरपालिकाको सुरुङ्गादेखि बुट्टावारि, गरामनी, मातामन्दिर क्षेत्रभित्र ९३ वटा क्यामेरा जडान भएका छन् । तीमध्ये २७ वटा बिग्रिएर कामै नलाग्ने अवस्थामा पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिर्तामोडको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय व्यवसायी तथा वडा कार्यालयको लगानीमा विभिन्न समितिमार्फत जडान गरिएका ती सिसि क्यामेराको मर्मत सम्भारमा कसैको ध्यान नजाँदा बेवारिसे बन्दै गएका हुन् ।

उक्त क्यामेराको सहयोगमा आपराधिक गतिविधि तथा सवारी दुर्घटना निगरानी गर्दै आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । तर, ती क्यामेराले काम नगर्दा त्यस्ता घटनामा संलग्नहरूको पहिचान गर्न गाह्रो भइरहेको उनको भनाई छ ।

सिसि क्यामेरा मर्मतको दायित्व नगरपालिकाको नभएको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईँले बताइन् । ‘नगरक्षेत्रभित्र आपराधिक घटनाहरू हुन्छन् भनेर राखेको मात्रै हो,’ उनले भनिन्, ‘यसो एक दुई लाख रुपैयाँ सपोर्ट गरेर हेरौँ है भन्ने कुरा चाहिँ भएको छ त्यसको बजेट छुट्टै चाहिँ छैन ।’
भद्रपुर रोडमा सिसि क्यामेरा जडान समितिका अध्यक्ष कुमार भट्टराईले क्यामेरा जडानकै क्रममा सम्पूर्ण रकम सकिएको र सबै फरफारक गरिसकेको बताए । क्यामेरा मर्मतका लागि कुनै कोष नभएको उनको भनाई छ । क्यामेरा बिग्रिएको बारेमा आफूलाई कुनै जानकारी नआएको र इलाका प्रहरी कार्यालयले समन्वय गरे कतैबाट रकम जुटाएर आफूहरूले जडान गरेको क्षेत्रको क्यामेरा मर्मत गर्न सकिने उनले बताए ।

त्यस्ता आपराधिक गतिविधिलाई सहज अनुगमन गर्न बिर्तामोडको वडा नम्बर १,२,४,५,६ र ८ मा २१ वटा सिसि क्यामेरा थप आवश्यक भएको इप्रका बिर्तामोडका प्रमुख कार्कीले बताए । चाडबाड नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले चाडवाड अगावै ती क्यामेराहरू मर्मत गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए । सामान्य फाइबरमा समस्या हुँदा इलाका प्रहरी कार्यालयको प्राविधिकले मर्मत गर्ने गरेको भएपनि २७ वटा क्यामेरामा नै समस्या आएकाले मर्मत गर्न नसकिएको डीएसपी कार्कीले बताए ।

सम्बन्धित समाचार