बिर्तामोडमा निःशुल्क रेबिज खोप
बिर्तामोड । बिर्तामोड नगरपालिकाले निःशुल्क रेबिज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले शुक्रबारदेखि सप्ताहव्यापी रेबिज विरुद्धको खोप कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत मेघराज बास्तोलाले उद्घाटन गरे ।
वडा नम्बर १० स्थित सैनिक बजारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अधिकृत बास्तोलाले नगरका पशुपन्छी तथा मत्स्य विकास शाखाका अधिकृत राजेश अधिकारीलाई भ्याक्सिन हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । नगरका १० वटै वडामा रहेका सडक सामुदायिक तथा घर पालुवा कुकुर र बिरालोलाई एक साताभरि रेबिज विरुद्धको खोप लगाइने छ । बिर्तामोड नगरपालिकाले वर्ष भरिनै रेबिज खोप निःशुल्क गरेको छ ।
अन्य समयमा पनि बिर्तामोडको पशुपन्छी तथा मत्स्य विकास शाखामा कुकुर बिरालोलाई ल्याएर निःशुल्क लगाउने व्यवस्था रहेको अधिकृत राजेश अधिकारीले जानकारी दिए । कार्यक्रममा वडा नम्बर १० का वडा सदस्य पृथ्वीबहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए । खोप उद्घाटन कार्यक्रममा सैनिक बजार चौकीका प्रहरी सहायक निरीक्षक विक्रम बहादुर चौधरी लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।