एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्यमा युवा उद्यमी पराजुली निर्वाचित
भद्रपुर । झापाको भद्रपुर–६ मा स्थापित पराजुली ब्रदर्स एन्ड ग्यास उद्योगका सञ्चालक, झापा उद्योग वाणिज्य संघका विशिष्ट मानार्थ सदस्य एवम् नेपाल चिया उत्पादक संघका केन्द्रीय उपाध्यक्ष, युवा उद्यमी आदित्य पराजुली नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार काठमाडौँमा सम्पन्न संघको २८ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा पराजुली निर्विरोध निर्वाचित भएका हुन् । झापामा सर्वाधिक बिक्री हुने त्रिशक्ति ग्यासका सञ्चालक उनी झापाका ग्यास उद्योगीहरूको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा चयन भएको बताइएको छ ।
एक सफल युवा उद्यमीका रुपमा पनि परिचित पराजुली रोटरी क्लब अफ भद्रपुरका पूर्व अध्यक्ष, भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष एवम् भद्रपुर क्रिकेट संघका अध्यक्ष पनि हुन् । उनी यसअघि पनि नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्य थिए ।
अधिवेशनबाट निर्विरोध निर्वाचित १५ सदस्यीय कार्यसमितिको अध्यक्षमा शिवप्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, उपाध्यक्षमा दिवानबहादुर चन्द र सुरेन्द्रराज पौडेल, महासचिवमा जीतबहादुर कार्की, सचिवमा अमित अग्रवाल र कोषाध्यक्षमा आशिष् जाजोदिया चयन भएका छन् भने सदस्यमा सुनिल सिन्हा, लोकहर्ष शाक्य, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र बुद्धि डल्लाकोटी निर्वाचित भएका छन् । मनिषकुमार जोशी र निर्मलकुमार खत्री क्षेत्रीलाई सदस्यमा मनोनीत गरिएको बताइएको छ ।