झापामा सवारी दुर्घटना : ६ महिनामा ४० जनाको मृत्यु
(विश्वास दाहाल) झापा । झापामा छ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ४० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कलाई हेर्दा पछिल्लो ६ महिनामा तीन सय ६१ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ४० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।
कार्यालयका अनुसार २०७९ चैतमा ७, वैशाखमा ६, जेठमा ७, असारमा ९, साउनमा ५, भदौमा ६ को मृत्यु भएको हो । मृत्यु हुनेमा २७ पुरुष, ९ महिला, १ बालक र ३ बालिका छन् । ती दुर्घटनामा ७१ जना गम्भीर घाइते भएका छन् भने ४ सय ७६ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । सामान्य घाइते हुनेमा ३३१ जना पुरुष, ९७ जना महिला र ४८ जना बालबालिका रहेका छन् । दुर्घटना हुने सवारीमा तीन सय २८ ओटा मोटरसाइकल, ३६ ट्याम्पो, ३१ साना सवारी, २२ बस, १५ ट्रक, ५ ट्रिपर, २२ ट्याक्टर, २ माइक्रो, डोजर र स्काभेटर र लोडर १ र जिप-कार ५२ रहेका प्रमुख न्यौपानेले जानकारी दिए ।
प्रहरीले अघिल्लो आ.व चैतमा रु ३२,४०,०००, वैशाखमा रु ३६,६०,०००, जेठमा रु ४२,०३,५००, असारमा ५०,४२,००० राजवस्व सङ्कलन गरेको छ भने चालु आ।व ०८०/८१ साउनमा रु२७,२८,०००, भदौमा २८,३४,६७१ राजवस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ३२ हजार तीन सय ४२ ओटा सवारीलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो । कार्यालयले एक हजार ६ सय ६ ओटा दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनालगायत विभिन्न सचेतनामूलक कार्यक्रमसमेत गरेको छ । उक्त कार्यक्रममा एक लाख दुई हजार ५ सय ७६ जनाको सहभागिता रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
झापाका ट्राफिक प्रमुख नवराज न्यौपानेले दुर्घटना न्यूनीकरणका लागि अभियानहरू सञ्चालन गरिरहेको जानकारी दिए । उनले सवारी चेकजाँचलाई प्रभावकारी बनाइरहेको बताएका छन् । प्रमुख न्यौपानेले धेरैजसो दुर्घटना लापरबाहीकै कारण हुने गरेको बताए । उनका अनुसार लापरबाहीका कारण भएका धेरैजसो दुर्घटनामा ज्यान नै जाने गरेको छ । उनले दुर्घटनालाई न्यूनीकरण गर्न राती १२ बजेसम्म चेकजाँच गर्ने गरिएको बताए ।