२०८१ श्रावण ३ गते , विहीबार

शिक्षक कसैको झोले हैन श्रीकृष्ण बनुन्

sajilo news
रमेश ढकाल
२०८० आश्विन ६ गते , शनिबार
शिक्षक कसैको झोले हैन श्रीकृष्ण बनुन्

शिक्षक भनेका हाम्रा छोराछोरीको मात्र हैन सिङ्गो राष्ट्रका भाग्य निर्माता हुन् । त्यसैले शिक्षकलाई उच्च सम्मान तथा समुचित सुविधा र सुरक्षा उपलब्ध गराउने सवालमा सरकार तथा सबै राजनीतिक दलहरू गम्भीर बन्नै पर्छ ।

शिक्षकहरूलाई सम्मान मात्रै हैन, समुचित सुविधा र सुरक्षा पनि मिलोस् भनेर हामीले भन्दै गर्दा शिक्षकहरू कति गम्भीर तथा संवेदनशील बनेर आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् त भन्ने सवाल पनि उठ्ने गरेको छ । सरकारी विद्यालयका शिक्षकहरू किन आफ्ना बच्चाहरूलाई निजी विद्यालयमा पठाउने गर्छन् ? निजी विद्यालयको तुलनामा सरकारी विद्यालयको नतिजा किन कमजोर आउने गर्छ ? यी लगायतका विषयमा शिक्षकहरूले गम्भीर भएर सोच्नै पर्छ ।   

अहिलेको विडम्बना के भयो भने एकातिर राजनीतिक दलहरू शिक्षक तथा शिक्षण संस्थाहरूलाई आफू अनुकूल परिचालन गर्न चाहन्छन्,भने अर्को  तिर शिक्षकहरू आफूहरूलाई ‘किङ मेकर’ ठान्न थालेका छन् । काठमाडौँमा शिक्षकहरूको शक्ति प्रदर्शन भनेर आएका समाचारहरूको अन्तर्य ‘हामीलाई कम आँकलन गर्ने गल्ती नगर, यदि हामीले चाहायौँ भने हामी सरकार ढालिदिन सक्छौँ’ भन्ने हैन र ? शिक्षक, विद्यार्थी तथा शैक्षिक संस्थाहरू यसरी सरकार बनाउने र गिराउने खेलमा सामेल हुन सक्ने आजको अवस्था,  विद्यार्थी, शिक्षक, राजनीतिज्ञ तथा सिङ्गो देश कसैको पनि हितमा छैन । यो अवस्थाले हाम्रो देशको सिङ्गो शिक्षा प्रणालीलाई थप निकम्मा बनाएर लैजाने छ ।  

समग्रमा एउटा शिक्षकको प्रमुख जिम्मेवारी भनेको विद्यार्थीहरूलाई पढाउनु, सिकाउनु त हो नै, यो सँगसँगै आफ्नो विद्यार्थीलाई सही मार्ग देखाउनु, उक्त मार्गमा हिँड्न सिकाउनु पनि हो । र यी सबै भन्दा पनि माथि एउटा शिक्षकका रुपमा उसको सबैभन्दा ठुलो जिम्मेवारी अथवा भूमिका भनेको त्यस्ता विद्यार्थीहरूमा परिवर्तन ल्याउनु हो, जो सुरुमा परिवर्तन हुन नै तयार हुँदैनन् ।  एउटा शिक्षक जसले विद्यार्थी भित्रको सम्भावनालाई पहिचान गरेर, उक्त विद्यार्थीमा परिवर्तन ल्याउन सफल बन्छ, जसका लागि विद्यार्थी सुरुमा तयार हुँदैन; त्यस्तो शिक्षक, शिक्षक हैन श्रीकृष्ण कहलाउँछ ।

 

 

कतिपय शिक्षकहरू पढाउने भन्दा पनि राजनीतिक दलका झोले बनेर नेताहरूको चाकरीमा रमाउने गरेको कुरा जगजाहेर छ । केही शिक्षकहरूको यस्तो गलत अभ्यासले एकातिर कडा परिश्रम गरिरहेका इमानदार शिक्षकहरूलाई निरुत्साहित पार्ने काम गरेको छ भने, अर्को तिर कयौँ विद्यार्थीहरूको भविष्य चौपट बनेको छ । जसका कारण शिक्षकहरूले आफ्नो परिचय मात्र हैन आफ्नो सम्मान, प्रतिष्ठा सबै गुमाई राखेका छन् । आजको यो परिवेशमा एउटा शिक्षकका लागि आफूलाई साँच्चिकै शिक्षक वा गुरु बनाई राख्न अत्यन्तै चुनौतीपूर्ण बन्दै आएको छ । शिक्षकहरू अध्यापन गराउनु पर्ने आफ्नो मुख्य जिम्मेवारीबाट विचलित हुन थालेका छन् ।

यस्तै सन्दर्भमा, गएको ५ सेप्टेम्बरका दिन शिक्षक दिवसको अवसर पारेर हाम्रो छिमेकी मुलुक भारतको एउटा विश्वविद्यालयमा शिक्षकहरूको भूमिका र जिम्मेवारीलाई लिएर एउटा सेमिनार भएको रहेछ । अनलाइनमा मैले पनि उक्त कार्यक्रम हेरे । निक्कै सान्दर्भिक लाग्यो । र यसले यो विषयमा थोरै केही लेख्न प्रेरित पनि ग¥यो ।

शिक्षक यानि परिवर्तनका संवाहक । जसले एउटा मामुली धातुको रुपमा स्कुल तथा कलेजमा भित्रिएका विद्यार्थीहरूलाई बहुमूल्य धातुमा रूपान्तरण गरेर बाहिर निकाल्छन् । अर्थात् मामुली धातुलाई तरासेर सुन जत्तिकै बहुमूल्य बनाउने काम गर्छन् । तर सवाल उठ्छ, के सबै शिक्षकले आफ्नो यति ठुलो जिम्मेवारीलाई साँच्चिकै संवेदनशील बनेर पूरा गरिरहेका होलान् त ?

महाभारतमा अर्जुन मलाई यो लडाई लड्नु छैन । आफ्नै गुरु तथा आफन्तहरूका विरुद्ध शस्त्र उठाउनु पर्ने क्षत्रिय धर्मको पालन पनि गर्नु छैन भनेर युद्ध मैदानबाट भाग्न खोजेका हुन्छन् । यसरी युद्धबाट विमुख हुन लागेका अर्जुनलाई उनका शिक्षक, सखा अथवा गुरु श्रीकृष्णले ज्ञान, कर्म र भक्ति योगका साथै मानवीय कर्तव्यबारे सम्झाएर कर्मको बाटोमा फर्काउँछन् । अर्जुनको मन भित्रका सबै प्रकारका दुबिधा, अन्यौलता, भ्रमलाई हटाएर उनलाई कर्म गर्न प्रेरित गर्छन् । युद्धका लागि तयार गर्छन् । र अन्ततः युद्धमा अर्जुनलाई विजयी गराउँछन् । त्यतिखेर उनै अर्जुनले आफ्नो अज्ञानताका कारण गरेका प्रश्नले गीता जस्तो एउटा महान् दार्शनिक ग्रन्थको जन्म पनि हुन पुग्यो ।    

अब म के नै गर्न सक्छु’र भनेर त्यतिकै छोडी दिने वा उक्त विद्यार्थीलाई अझ अन्धकारमा धकेलिदिने होइन । बल्की उसले किन पढ्न नजानेको हो त ? उसलाई किन अध्ययनमा रुचि नभएको हो त ? यसको सही कारण पत्ता लगाएर आवश्यक सुधारका उपायहरू अपनाएर विद्यार्थीलाई सही ट्र्याकमा ल्याउन सक्नु पर्छ । यसो गर्नु, एउटा शिक्षकको जिम्मेवारी मात्र हैन, कर्तव्य र धर्म पनि हो ।

 

सम्झनुस्, त्यतिखेर यदि श्रीकृष्णले अर्जुनलाई एउटा मन्द बुद्धि भएको केटो ठानेर, यसलाई युद्ध गर्ने मन नै छैन । यसले कर्म वा युद्ध गर्नुको महत्त्व नै बुझेको छैन । यो लड्न नै चाहँदैन । यस्तो व्यक्तिका लागि मैले किन बेकारको टेन्सन लिनु भनेर अर्जुनलाई त्यतिकै छोडिदिएका भए, आज अर्जुनको छवि एउटा महान् पराक्रमी तथा पुरुषार्थ योद्धाका रुपमा नभएर एउटा सामान्य राजकुमारका रुपमा मात्र सीमित रहने थियो । र गीता जस्तो महान् दार्शनिक ग्रन्थको जन्म पनि हुने थिएन ।

त्यसैले यदि कुनै विद्यार्थीले पढ्न जानेन अथवा पढ्नमा रुचि देखाएन भनेर शिक्षकले लौ यो विद्यार्थीलाई त पढ्नमा रुचि नै रहेन रहेछ । अब म के नै गर्न सक्छु’र भनेर त्यतिकै छोडी दिने वा उक्त विद्यार्थीलाई अझ अन्धकारमा धकेलिदिने होइन । बल्की उसले किन पढ्न नजानेको हो त ? उसलाई किन अध्ययनमा रुचि नभएको हो त ? यसको सही कारण पत्ता लगाएर आवश्यक सुधारका उपायहरू अपनाएर विद्यार्थीलाई सही ट्र्याकमा ल्याउन सक्नु पर्छ । यसो गर्नु, एउटा शिक्षकको जिम्मेवारी मात्र हैन, कर्तव्य र धर्म पनि हो ।

उदाहरणका लागी, हाम्रा साना–साना नानी बाबुहरू सजिलैसँग खाना खान मान्दैनन् । त्यतिखेर उनीहरूले खाना खान मानेनन् भनेर हामी उनीहरूलाई त्यतिकै भोकै छोडिदिँदैनौँ । उनीहरूको रुचि अनुसार फरक–फरक विधि वा तरिकाहरू अपनाएर भए पनि उनीहरूलाई हामी खाना खुवाएर नै छाड्छौँ । यसै गरेर एउटा शिक्षकका लागि विद्यार्थीहरू पनि तिनै साना–साना नानी बाबुहरू जस्तै हुन् । कति विद्यार्थीहरू राम्रोसँग पढ्न जान्दैनन्, मान्दैनन् अथवा कतिलाई शिक्षकले अपनाएको शिक्षण शैली बुझ्नलाई गाह्रो भएको पनि हुनसक्छ । यस्तो अवस्थामा शिक्षकले विद्यार्थीहरू भित्रको सम्भावनालाई मध्यनजर गरेर फरक–फरक विधि वा तरिकाहरू अपनाएर त्यस्ता विद्यार्थीहरूलाई पढ्नका लागि प्रेरित गर्न सक्नु पर्छ । पढ्नु पर्ने कर्तव्य वा पढाइको महत्वका बारेमा विद्यार्थीहरूलाई सम्झाउन, बुझाउन सक्नु पर्छ ।     

यस्तै सन्दर्भमा, महाभारतमा श्रीकृष्ण र मृत्यु शय्यामा रहेका भीष्म पितामहका बिचमा कुरा हुँदा; भीष्म भन्छन्, देवकीनन्दन, मैले के गल्ती गरे र ? म त आफ्नो प्रतिज्ञा अनुसार कै जीवन बिताइरहेको छु । कृष्ण भन्छन्, तपाईँको कुरा ठिकै हो, तर पनि कतिपय परिस्थितिहरूमा, तपाईँले ठिक गर्नु भएन । कतिपय अवस्थामा तपाईँले आफ्नो जीवन जिउने शैली परिवर्तन गर्नुपर्ने हुन्थ्यो, जुन तपाईँले गर्नु भएन । 

तर देवकीनन्दन, तिमीलाई राम्रोसँग थाहा छ, म त आफ्नो प्रतिज्ञामा बाँधिएको थिएँ, त्यसलाई म कसरी तोड्न सक्थे र ? कृष्ण भन्छन्, शस्त्र उठाउँदिन भनेर प्रतिज्ञा त मैले पनि गरेको थिए । तर मैले उक्त प्रतिज्ञा तोडे, किनकि त्यतिखेर त्यही आवश्यक थियो । यसै गरेर शिक्षक पनि आफ्नो शिक्षण शैलीमा बाँधिएर, मैले त मेरो सिकाउने जिम्मेवारी पुरा गरिरहेको छु, अब विद्यार्थी नै सिक्न सक्दैन भने म के गरौँ ? म त मेरो सिकाउने तरिका परिवर्तन गर्दिन भनेर रिजिड हुन मिल्दैन । विद्यार्थी भित्रको सम्भावना, उसको सिक्ने क्षमता तथा रुचिका आधारमा शिक्षकले आफ्नो शिक्षण शैलीलाई आवश्यकता अनुसार परिवर्तन पनि गर्न सक्नु पर्छ ।

शिक्षकको काम फगत सिकाउनु मात्र हैन, बाटो देखाउनु पनि हो । विद्यार्थीहरूलाई अगाडि बढ्न सही मार्गदर्शन गर्नु पनि हो । जब एउटा शिक्षक साँच्चिकै असल मार्गदर्शक बन्न सफल हुन्छ, उसले सम्मानको लागि कसैसँग भिख मागिराख्नु पर्दैन । ऊ स्वतः सम्मानित बन्छ । यस्तो अवस्थामा, शिक्षकले कुनै लाभ पनि खोजी राख्नु पर्दैन । उसको निस्वार्थ कर्म आफैँ उसका लागि लाभदायक बन्छ । 

त्यसैले यदि कुनै शिक्षकलाई आफूले उचित सम्मान नपाएको, उचित लाभ नपाएको जस्तो लागे; के म साँच्चिकै निस्वार्थ भएर आफ्नो कर्म गरिरहेको छु ? के म साँच्चिकै एउटा असल मार्गदर्शक बन्न सकेको छु ? के म साँच्चिकै सही नियत राखेर पढाउँदै छु ? भनेर आफैँलाई प्रश्न गर्नु पर्ने हुन्छ ।

एउटा विद्यार्थी जो पहिलेबाट नै प्रतिभाशाली छ, मेहनती छ, आज्ञाकारी छ वा जुन विद्यार्थी पहिलेबाट नै सुनौलो भविष्य लिएर आएको हुन्छ, त्यस्तो विद्यार्थीका लागि कुनै विशेष दक्ष शिक्षकको आवश्यकता नै पर्दैन । ऊ त सुरुमा स्कुल तथा कलेजमा आउँदा नै सुनको रूप लिएर आएको हुन्छ । यस्तो विद्यार्थीका लागि शिक्षकले धेरै मेहनत गर्नै पर्दैन । केवल उक्त विद्यार्थीमा टाँसिएको थोरै धुलो पुछिदिए वा टकटक्याइ दिए मात्र पनि पुगिहाल्छ । बाँकी प्रयास त ऊ आफैँले गर्छ । शिक्षकले मेहनत त ती विद्यार्थीहरूलाई सुन बनाउनमा गर्नु पर्छ, जो सामान्य धातुका रुपमा स्कुल, कलेज आएका हुन्छन् ।  

एउटा असल शिक्षकले आफ्ना विद्यार्थीहरूको मानसिकतालाई पढ्न, बुझ्न सक्नु पर्छ । उनीहरूको रुचि थाहा पाउन सक्नु पर्छ । उनीहरू भित्र निहित सम्भावनाहरूलाई औँल्याइदिन  सक्नु पर्छ, र उक्त क्षेत्रमा लागि पर्न विद्यार्थीहरूलाई प्रोत्साहित पनि गर्न सक्नु पर्छ । कति अवस्थामा कुनै विद्यार्थीको रुचि तथा ऊ भित्र निहित सम्भावना, स्कुल कलेजको शैक्षिक पाठ्यक्रम भन्दा बाहिरको विषय पनि हुन सक्छ । यस्तो अवस्थामा एउटा असल शिक्षकले आफ्नो विद्यार्थीलाई अत्यन्तै सावधानीपूर्वक सही ढङ्गले मार्गदर्शन गर्न सक्नु पर्छ । 

स्कुल तथा कलेजमा सही मार्गदर्शन नपाएकै कारण, आज हाम्रा कयौँ त्यस्ता भाइ बहिनीहरू कोरिया, मलेसिया लगायत विभिन्न खाडी मुलुकहरूमा सङ्घर्ष गरिराखेका होलान् – जो भित्र एउटा राम्रो खेलाडी, कलाकार, पत्रकार, राजनीतिज्ञ अथवा कुनै विज्ञ वा व्यापारी नै पनि बन्न सक्ने सम्भावना थियो होला । 

यसो अनुमान गरौँ, आसिफ शेख झैँ अन्तर्राष्ट्रिय मैदानमा क्रिकेटको ब्याट समातेर चम्कन सक्ने सम्भावना भएको एउटा युवा आज कुनै खाडी मुलुकको टन्टलापुर घाममा हातमा बेल्चा समातेर पसिना बगाउँदै होला । टिकाराम यात्रीले झैँ टेलिभिजनमा गहन प्रश्न गरेर हजारौँ मान्छेहरूलाई अँध्यारो बाट उज्यालो तर्फको यात्राका लागि प्रेरित गर्न सक्ने सम्भावना बोकेको एउटा युवा आज मलेसियाको कुनै फ्याक्ट्रीमा  आफ्नै भाग्यलाई धिक्कार्दै ऊ आफै अँध्यारोमा रुमली राखेको होला । प्रियङ्का कार्की झैँ नेपाली फिल्मी पर्दामा चम्कन सक्ने सम्भावना बोकेकी कुनै एउटी चेली आज दुबईको कुनै रेस्टुरेन्टमा आफ्नो अनुहारलाई बनावटी मुस्कानले सजाएर ग्राहकहरूलाई स्वागत गरिराखेकी होलिन् । 

सोबिता गौतम झैँ राजनीतिमा पसेर आफ्नो देश तथा समाजको सेवा गर्ने सम्भावना बोकेकी एउटी चेली आज इजरायलको कुनै घरमा ज्येष्ठ नागरिकहरूको सेवा गरेर दिन बिताइराखेकी होलिन् । भरतमणि पौडेल झैँ स्ट्यान्ड–अप कमेडीमा चम्कन सक्ने सम्भावना बोकेको कुनै एउटा युवा आज कतारमा आएर हतार हतार गर्दै हातमा टिफिन झुन्ड्याएर ड्युटी हिँड्नु पर्दा, उसलाई आफ्नो वास्तविक जीवन नै कमेडी बनेको जस्तो लागिराखेको होला ।  

हुनका लागि त यी सबै एउटा कल्पना अथवा अनुमान मात्र हुन् । तर पनि यसमा सत्यता छ; यो कुरलाई तपाईँ हामी कसैले पनि नकार्न सक्दैनौँ । सही मार्गदर्शनको अभावमा, आफ्नो देश र समाजका लागि केही गर्न सक्ने सम्भावना बोकेका कयौँ भाइ बहिनीहरूको जीवन आज निरर्थक बन्न पुगेको छ । सही समयमा, सही मान्छेबाट, सही मार्गदर्शन पाउन सक्ने हो भने, त्यसले मान्छेलाई कहाँबाट कहाँ पुर्‍याउन सक्छ, यो कुरा सम्बन्धित व्यक्ति स्वयमले पनि सुरुमा कल्पना गरेको हुँदैन । र यस्तो मार्गदर्शनका लागि स्कुल तथा कलेजहरूमा हाम्रा शिक्षक वा गुरुहरूको भूमिका, घरका अभिभावकहरूको भन्दा पनि धेरै महत्त्वपूर्ण हुने गर्दछ ।  

समग्रमा एउटा शिक्षकको प्रमुख जिम्मेवारी भनेको विद्यार्थीहरूलाई पढाउनु, सिकाउनु त हो नै, यो सँगसँगै आफ्नो विद्यार्थीलाई सही मार्ग देखाउनु, उक्त मार्गमा हिँड्न सिकाउनु पनि हो । र यी सबै भन्दा पनि माथि एउटा शिक्षकका रुपमा उसको सबैभन्दा ठुलो जिम्मेवारी अथवा भूमिका भनेको त्यस्ता विद्यार्थीहरूमा परिवर्तन ल्याउनु हो, जो सुरुमा परिवर्तन हुन नै तयार हुँदैनन् ।  एउटा शिक्षक जसले विद्यार्थी भित्रको सम्भावनालाई पहिचान गरेर, उक्त विद्यार्थीमा परिवर्तन ल्याउन सफल बन्छ, जसका लागि विद्यार्थी सुरुमा तयार हुँदैन; त्यस्तो शिक्षक, शिक्षक हैन श्रीकृष्ण कहलाउँछ ।

रमेश ढकाल  झापा, भद्रपुर–७ (हाल: दोहा–कतार)

 

सम्बन्धित समाचार