२०८१ आश्विन १८ गते , शुक्रबार

युएसएद्वारा रेडक्रस कुमरखोदलाई एम्बुलेन्स हस्तान्तरण

sajilo news
झापा
२०८० भाद्र ३० गते , शनिबार
युएसएद्वारा रेडक्रस कुमरखोदलाई एम्बुलेन्स हस्तान्तरण

अन्तर्राष्ट्रिय झापाली समाजको राष्ट्रिय समिति झापाली समाज युएसएले नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

अन्तर्राष्ट्रिय झापाली समाज यु।एस।ए।का महासचिव नवीन पोखरेलको पहलमा नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखालाई प्राप्त सो एम्बुलेन्सको चाबी कार्यक्रमका प्रमुख अतिथि सांसद विश्वप्रकाश शर्माले रेडक्रस उपशाखा सभापति सुन्दरलाल गणेशलाई हस्तान्तरण गरेका थिए ।

साझेदारीमा खरिद गरिएको सो एम्बुलेन्सका लागि झापाली समाज यूएसएको ९ लाख ९४ हजार ७३५ ,झापा गाउँपालिकाको ३ लाख ५० हजार र रेडक्रस कुमरखोद उपशाखाको ७ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । करिब २ वर्ष अगाडी प्रतिबद्धता गरिएको उक्त एम्बुलेन्स नेपाल सरकारको केही परिवर्तित नियमका कारण ल्याउन ढिलाइ भएको अन्तर्राष्ट्रिय झापाली समाज युएसएका महासचिव पोखरेलले बताए ।

कुमरखोद उपशाखाका सभापति सुन्दरलाल गणेशको अध्यक्षता तथा सांसद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेश सांसद लख्खीकुमारी गणेश ,नेपाली काँग्रेसका जिल्ला सभापति देउकुमार थेबे ,झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया , अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव नवीन पोख्रेल,नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललगायत रेडक्रसका विभिन्न उपशाखाका सभापति र विभिन्न राजनीतिकर्मीहरूको उपस्थिति रहेको थियो ।

यस्तै गत वर्ष करिब ६५ लाख रुपैयाँको चन्दा र पालिकाको सहयोगबाट निर्मित रेडक्रस कुमरखोद उपशाखाको भवन पनि सोही अवसरमा उद्घाटन गरिएको छ ।

सम्बन्धित समाचार