२०८१ श्रावण २ गते , बुधबार

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

sajilo news
झापा
२०८० भाद्र १८ गते , सोमबार
नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

एशिया कप क्रिकेटमा नेपालले भारतलाई जितका लागि २३१ रनको लक्ष्य दिएको छ। श्रीलंकाको पल्लेकेले स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाएर २३० रन बनाएपछि भारतले जितका लागि २३१ रनको लक्ष्य पाएको हो।

पाकिस्तानसँगको पहिलो खेलमा खराब प्रदर्शन गरेको नेपालले भारतविरुद्ध भने तारिफयोग्य प्रदर्शन गरेको छ। स्टेडियममा नेपालीको उल्लेख्य उपस्थिति थियो। नेपाली दर्शकले नेपालको झण्डा फहराउँदै नेपाली खेलाडीको हरेक चौका‚ छक्का प्रहारमा खेलाडीको उत्साह बढाएका थिए।

उच्च मनोबलका साथ भारतविरुद्ध ब्याटिङ थालेको नेपालका लागि ओपनर आशिफ सेखले अर्धशतक प्रहार गरे। ९७ बलको सामना गरेका उनले ८ चौकाको मद्दतमा ५८ रनको योगदान गरे। उनले नेपालका लागि सर्वाधिक व्यक्तिगत रन बनाए।

पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ६५ रनको साझेदारी गरे।  सोमपाल कामी अर्धशतक प्रहार गर्न मात्र २ रनले चुके। ५६ बलको सामना गरेका उनले १ चौका र २ छक्का हान्दै ४८ रन जोडेपछि मोहम्मद सामीको बलमा विकेटकिपर इशान किशनबाट क्याच आउट हुन पुगे।

आठौं विकेटका रुपमा सोमपाल आउट हुँदा नेपालको स्कोर ४७ ओभर २ बलमा २२८ रन थियो। खेलको बीचमा पानी परेपछि खेल रोकिएको थियो। ३७ ओभर ५ बलमा ६ विकेट गुमाएर नेपालले १७८ रन बनाएका बेला पानी परेपछि खेल रोकिएको थियो।

खेल रोकिएको ४५ मिनेटपछि पुनः सुरु भएको थियो। ४५ मिनेट ढिला भएपनि ओभर भने घटाइएको थिएन। कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रनमा आउट हुँदा गुल्सन झा ३५ बलमा ३ चौका हान्दै २३ रन बनाएर पेभेलियन फर्किए।

भीम सार्की ब्यक्तिगत ७ रनमा आउट भए भने कप्तान रोहित पौडेल पनि सस्तैमा समेटिए। ८ बलको सामना गरेका रोहित ५ रन बनाएर आउट हुन पुगे। रन आउट भएका सन्दिप लामिछानेले ९ रन बनाए। कुशल मल्ल ब्यक्तिगत २ रनमा क्याच आउट भए। 

करण केसी २ रनमा अविजित रहँदा ललित राजवंशीलाई मोहम्मद सिराजले बोल्ड गरेपछि २३० रनको स्कोरमा नेपालको अन्तिम विकेट खसेको थियो।

बलिङतर्फ रविन्द्र जडेजाले र मोहम्मद सिराजले सर्वाधिक ३/३ विकेट लिए। मोहम्मद सामी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १/१ विकेट लिए।  जितका लागि २३१ रनको लक्ष्य पाएको भारत केहीबेरपछि जवाफी ब्याटिङ गर्न क्रिजमा उत्रिँदै छ। यसअघि पाकिस्तानसँग पराजित भएका कारण नेपाल अंकविहीन छ। पाकिस्तानसँग अंक बाँडेको भारतले १ अंक जोडेको छ। 

सम्बन्धित समाचार