झापामा माओवादीको अभियान : गाउँमै डाक्टर बोलाएर स्वास्थ्य जाँच
मेचीनगर । चिया बगानका मजदुर तथा विपन्न नागरिकलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तर्गत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशीले झापाको मेचीनगर–७ स्थित अरनिको माविमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशीको स्वास्थ्य जाँच गरेर शिविर सुचारु गरिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेश इन्चार्ज भूपाल सापकोटाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र कार्की रहेका थिए ।
उनले माओवादी जनताको दुःखसुखमा साथ दिने पार्टी भएको बताए । अभियानका झापा इन्चार्जसमेत रहेका कार्कीले स्वास्थ्य र शिक्षालाई निःशुल्क बनाउन पार्टीले लबिङ गरिरहेको जानकारी दिए । माओवादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्यालले सञ्चालन गरेको कार्यक्रममा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघकी केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश फ्याक्सन इन्चार्ज अञ्जना पोखरेलले गरिब दुखीको घरघरमा पुगेर स्वास्थ्य सेवा प्रवाह गर्ने बताइन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका मेचीनगर–बुद्धशान्ति इन्चार्ज गोम्बु शेर्पा, माओवादी केन्द्र जिल्ला समन्वय समिति झापा संयोजक राजु आचार्य ‘अग्नि’, अखिल नेपाल चिया मजदुर संगठन केन्द्रीय अध्यक्ष सीता सापकोटा, अरनिको मावि व्यवस्थापन समिति अध्यक्ष निर्मलकुमार अधिकारीलगायतको आतिथ्य रहेको थियो ।
शिविरमा डा. सफीउर रहमान, डा. कविता यादव, डा. फैयाज अन्सारी, डा. सोनालीसिंह गौतम, डा. मुरलीप्रसाद शाह, हेम नारायण मेहता, कल्पना चापागाईँ, अरविन्द यादव, जावेद अन्सारी, सकिना खातुन, सृजना माझी, अणु चौधरी, इमरान अन्सारी, शाहिद अन्सारी लगायतको विशेषज्ञ टोली स्वास्थ्य जाँचमा खटिएको छ । स्वास्थ्य शिविरमा जनरल फिजिसियन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, दन्त चिकित्सा, भिडियो एक्स रे, ल्याब तथा इसीजी, हाडजोर्नी तथा नशा रोग, नव शिशु तथा बाल रोग, क्यान्सर रोग स्क्रिनिङ, नाक, कान, घाँटी रोग, आँखा रोग, छाला तथा यौन रोग, छाती तथा पेट सम्बन्धी रोगको जाँच भइरहेको छ ।
बिहान ११ बजेदेखि सुरु भएको स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरूले जाँच गर्दै औषधि समेत वितरण गरिएको छ । स्थानीयले गाउँमै डाक्टर बोलाएर सेवा दिएकोमा खुसी व्यक्त गरेका छन् । स्थानीय सेवा लिन अरनिको माविमा सयौँ उपस्थित भएका छन् । शिविर साँझसम्म सञ्चालन गरिने र अधिकतम धेरै बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ ।