१०० किलो भनिएको तस्करीको सुन ६० किलो ७१६ ग्राम मात्रै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा मंगलबार 'ब्रेक सु' बाट छुटाएको सुन गालिएको थियो।
सोमबार 'ब्रेक सु 'बाट सुन छुट्याउने काम भएको थियो। 'ब्रेक सु' बाट छुट्याएको सुनको तौल ६० किलो ७८९ ग्राम थियो। पगाल्दा सुन ७३ ग्राम घटेर ६० किलो ७१६ ग्राम भएको हो।
टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलेले 'ब्रेक सुु' बाट छु्टयाएको ६० किलो ७८९ ग्राम सुन पगाल्दा ६० किलो ७१६ ग्राम मात्रै भएको जानकारी दिए।
उनका अनुसार सुन गालेर ३४ वटा विस्कुट बनेका छन्। उनले अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने बताए। त्यसपछि मात्रै सुनको वास्तविक गुणस्तर आउनेछ।
रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर सिनामंगलबाट साउन २ गते बरामद गरिएको थियो। सो सुनको वास्तविक परिमाण पत्ता लगाउन गालिएको हो। सुन तस्करी प्रकरणमा हालसम्म १६ जना बढी व्यक्ति पक्राउ परिसकेका छन्।