२०८३ बैशाख ३१ गते , विहीबार

विराटनगरका चौधरीलाई गोली हानी हत्या गरेका दुई आरोपी सार्वजनिक

sajilo news
झापा
२०८० श्रावण १७ गते , बुधबार
विराटनगरका चौधरीलाई गोली हानी हत्या गरेका दुई आरोपी सार्वजनिक

प्रहरीले विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेका दुई आरोपीलाई सार्वजनिक गरेको छ । इटहरी नगरपालिका- २० स्थित सेउती पुलमा साउन ५ गते चौधरीलाई गोली हानी हत्या गरेका लेटाङ नगरपालिका-१ का ३५ वर्षीय दीपक तिमिल्सिना  र धरान- १० का ३४ वर्षीय अनसन राईलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । 

पक्राउ परेका उनीहरूले धरानबाट इटहरी जाँदै गरेको को ३२ प १७९६ नम्बरको मोटरसाइकल रोकेर मोटरसाइकलमा सवार रहेका चौधरी र विराटनगर- ३ की सुमना खत्रीलाई पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गर्न खोजेका थिए । सोही क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी उनीहरू फरार भएका थिए । कोखामा गोली लागेर गम्भीर घाइते भएका चौधरीको सोही दिन उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाए लगत्तै फरार व्यक्तिहरूको खोजतलासमा खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न २ जनालाई साउन १६ गते धरानकै पुतली लाइनबाट पक्राउ गरेको थियो ।  अनुसन्धान गर्ने क्रममा उक्त घटना बाहेक असार ८ गते धरान- १७ को खैरेनी जङ्गलमा १ जना महिला माथि भएको लुटपाट, असार २३ गते धरानबाट मोटरसाइकलमा प्रकाशपुर गइरहेका श्रीमान् श्रीमती माथि सोही स्थानमा भएको लुटपाट र असार ३१ गते धरानबाट कालाबन्जार जाँदै गरेका अर्का एक व्यक्तिलाई समेत श्रृखंलाबद्ध रुपमा भएको लुटपाटमा यी व्यक्तिहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका मध्ये तिम्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिना अगाडि छुटेको र तामाङ लागु औषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेको तथा दुवै जना लागु औषध दुर्व्यसनी रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक थान अटोमेटिक चाइनिज पेस्तोल, ९ राउन्ड गोली , म्यागेजिन २ थान, कालो झोला ५ थान, लेडिज ब्याग ४ थान,  खुकुरी २ थान, मोबाइल ५ थान, औँठी १ थान र फायर भएको गोलीको खोका एक थान बरामद भएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको र पक्राउ व्यक्तिहरूको १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार