कचनकवलका गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य बिमा

कचनकवल । कचनकवल गाउँपालिकाले गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य बिमा गराइदिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कचनकवल भित्रका सम्पूर्ण गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य बिमा गरिदिन लागेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख यादवका अनुसार गाउँपालिकाको नीतिगत कार्यक्रम बमोजिम सबै वडाका सबै टोलका गर्भवती महिलाले सम्बन्धित वडाको स्वास्थ्य बिमा दर्ता सहयोगीको सम्पर्कमा आई निःशुल्क स्वास्थ्य बिमामा गराउन अपिल गरेका छन् ।
गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमाको स्वास्थ्य तथा जन्मने नवशिशुको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्दछ । त्यसैले गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्त्व पाएर हुर्कन्छन् । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साबिक खानाका साथै एक पटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्ने उनको भनाई छ ।