२०८३ बैशाख १६ गते , बुधबार

झापा उद्योग वाणिज्य संघले बुझायो भद्रपुर नगरपालिकालाई १२ बुँदे ज्ञापनपत्र

sajilo news
झापा
२०८० असार ११ गते , सोमबार
झापा उद्योग वाणिज्य संघले बुझायो भद्रपुर नगरपालिकालाई १२ बुँदे ज्ञापनपत्र

भद्रपुर ।  उद्योग–व्यवसाय क्षेत्रको विकास र उद्योगी–व्यवसायीको सुरक्षा तथा हकहितको माग गर्दै झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष प्रज्वल राईको नेतृत्वमा आज सोमबार नगरपालिका पुगेको संघका पदाधिकारी–सदस्यहरूको टोलीले नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो ।

खुला सीमाका कारण खस्कँदै गएको भद्रपुर बजारलाई पुरानै अवस्थामा फर्काउन गर्न सकिने काममा सक्रियता देखाउन आग्रहसहित संघले नगरपालिकालाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । नगरप्रमुखको कार्यकक्षमा संक्षिप्त कार्यक्रम गरी संघले ज्ञापनपत्र बुझाएको थियो । संघका अध्यक्ष राई, विशिष्ट मानार्थ सदस्य आदित्य पराजुली, विशिष्ट सदस्य अड्क लिम्बू, उपाध्यक्ष सिता ढकाल, महासचिव सुमन्त मैनालीसमेतले नगरप्रमुख पोखरेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

ज्ञापन पत्रमा निरन्तर चोरीका घटना भइरहेको भद्रपुर बजारको सुरक्षाका लागि सुरक्षा निकायको उपस्थितिलाई मजबुत बनाउनुपर्ने, भद्रपुर, चन्द्रगढी, ज्ञानेचोक, हिमाली चोक बजारलगायत भद्रपुर ८ मा रहेको हाट–बजार क्षेत्रको स्तरोन्नति तथा ती क्षेत्रमा लाइटिङको समुचित व्यवस्था गर्नुपर्ने । सबै बजार क्षेत्र, मेची पुल, मुख्य चोक–बजार तथा आर्थिक क्षेत्रहरूमा गुणस्तरीय सिसी क्यामेरा जडान गरी व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने, पुरानो भद्रपुरको बजार क्षेत्रको सुन्दरता कायम गर्न उपभोक्ता चौतारीको व्यवस्था गर्नुपर्ने, पुरानो भद्रपुरको बजार क्षेत्रमा स्थायी पार्किङको व्यवस्था गर्दै सफा–सुन्दर बजार क्षेत्र निर्माण गर्नुपर्ने, बजार क्षेत्रका सडकलाई फराकिलो बनाउँदै भत्काइएका सडकहरू शीघ्रातिशीघ्र निर्माण गर्नुपर्ने, उपभोक्तामैत्री बजारको वातावरण तयार गर्दै उपभोक्ता सीमापारि जाने संस्कार अन्त्य गर्नुपर्ने,  नियामक निकाय भद्रपुर भन्सार, सशस्त्र प्रहरी र वडा प्रहरी कार्यालयबाट भए–गरिएका त्रुटिहरू सुधार गर्नुपर्ने, सबै गाउँबाट भद्रपुर बजार छिर्ने यातायात सेवा सञ्चालन गर्नुपर्ने, नगरपालिकाले वाणिज्य क्षेत्रबाट संकलित करको कम्तीमा २५ प्रतिशत रकम व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि झापा उद्योग वाणिज्य संघमार्फत सञ्चालन गर्नुपर्ने, नगरपालिकामा उद्योग–व्यवसाय हेर्ने गरी हेल्पडेस्क राखी भद्रपुर नगरमा उद्योग–व्यवसाय गर्न आउने उद्योगी–व्यवसायीलाई सहजीकरण गर्नुपर्ने र     भद्रपुरमा लाग्ने हाट–बजारका दिन कम्तीमा साना मालवाहक (छोटा हात्ती, म्याजिकलगायत) सवारी–साधनलाई ट्राफिक व्यवस्थामा असर नपर्ने गरी बजारभित्र पस्ने र काम सकिएपछि तुरुन्तै निस्कने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।संघले नगरपालिकासँग सहकार्य गर्न सक्ने कार्यक्रमहरू समेत उल्लेख गरी प्रस्तावना पत्र पनि नगरप्रमुख पोखरेललाई हस्तान्तरण गरेको संघका अध्यक्ष राईले बताए ।

ज्ञापन पत्रमा अध्यक्ष प्रज्वल राई, वरिष्ठ उपाध्यक्ष राजकुमार राई र महासचिव सुमन्त मैनालीले हस्ताक्षर गरेका छन् ।ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख पोखरेलले नगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत उद्योग–व्यवसाय क्षेत्र नै भएकोले यो क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले कुनै कसर नछोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आगामी आर्थिक वर्षदेखि संघसँग सहकार्य गरेर जाने योजना नगरपालिकाले बनाएको बताउँदै भद्रपुर बजारको पुरानो साख फर्काउन सबै पक्ष जुट्नुपर्ने पोखरेलले बताए । संघका अध्यक्ष राईले झापा उद्योग वाणिज्य संघ समग्र झापा जिल्लाका उद्योगी–व्यवसायीहरूको प्रतिनिधित्व गर्ने संस्था भएकोले झापाका सम्पूर्ण उद्योगी–व्यवसायीको हितका लागि जिल्लाका सबै स्थानीय तहहरूसँग छलफल र सहकार्य गर्दै जाने बताएका छन् ।

 

 

 

सम्बन्धित समाचार