२०८३ बैशाख १६ गते , बुधबार

कचनकवल गाउँपालिकामा काँग्रेस जनप्रतिनिधिबीच लफडा सुरु, गाउँ सभा बहिष्कारका बीच नीति तथा कार्यक्रम पारित

sajilo news
पार्थ मण्डल
२०८० असार ११ गते , सोमबार
कचनकवल गाउँपालिकामा काँग्रेस जनप्रतिनिधिबीच लफडा सुरु, गाउँ सभा बहिष्कारका बीच नीति तथा कार्यक्रम पारित

झापा । नेपाली काँग्रेसको एकल बहुमत रहेको दक्षिणी झापाको कचनकवल गाउँपालिकामा काँग्रेस जनप्रतिनिधिबीच नै लफडा सुरु भएको छ । गाउँपालिकाले आइतबार दोस्रो गाउँ सभाको तेस्रो अधिवेशनको गर्ने क्रममा काँग्रेसका जनप्रतिनिधिहरूले सभा बहिष्कार गरेसँगै पालिकाभित्र आन्तरिक विवाद सुरु भएको हो । 

काँग्रेसबाट निर्वाचित कचनकवल ३ नम्बर वडाअध्यक्ष मोहम्मद ग्यास अजमल मियाँ र ३ नम्बर वडा अध्यक्ष नुर आलम लगायतका जनप्रतिनिधिहरूले सभा बहिष्कार गरेका थिए । काँग्रेसबाटै निर्वाचित गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले वडाका अध्यक्षहरूको मागलाई सम्बोधन नगरेको उनीहरूले अरोप लगाएका छन् ।

गाउँपालिकाले योजनाहरू छनौट गर्दा वडा मार्फत सञ्चालन नगरेको र बजेट फर्स्यौट हुनुपर्ने समेतको माग सम्बोधन नगरेकोले सभा बहिष्कार गरेको वडा अध्यक्ष अजमल मियाँले जानकारी दिए । वडा अध्यक्षसहित केही जनप्रतिनिधिहरूले सभा बहिष्कार गरेपनि सभामा बहुमत पुगेपछि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमसहितको प्रस्तावित बजेट पारित गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा ६३ करोड १ लाख १० हजार अनुमानित बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी गराएका छन् । यस आर्थिक वर्षको तुलनामा आगामी वर्ष बजेटको आधार घटाइएको छ । 

गाउँपालिकाको आर्थिक विकास कार्यक्रमतर्फ २ करोड ४९ हजार , सामाजिक विकास कार्यक्रमतर्फ २९ करोड ४९ लाख ४४ हजार, वातावरण तथा विपत् व्यवस्थापन कार्यक्रमतर्फ १५ लाख, वन तथा वातावरण १० लाख , सुशासन तथा संस्थागत क्षमता विकास सेवा प्रवाह २७ लाख , युवा तथा खेलकुद ३१ लाख , श्रम तथा रोजगार ८० लाख ,कार्यालय सञ्चालनतर्फ ७ करोड ५५ लाख १६ हजार  र पूर्वाधार विकास कार्यक्रमतर्फ २२ करोड २८ लाख ५० हजार रुपैयाँ गरी ६३ करोड १ लाख १० हजार अनुमानित बजेट रहेको उपाध्यक्ष भट्टराईले बताए ।  

उल्लेखित अनुमानित बजेट खर्च व्यहोर्ने स्रोतमध्ये गाउँ पालिकाको आन्तरिक आय १ करोड ९२ लाख, राजश्व बाँडफाँडतर्फ सङ्घीय सरकारबाट १० करोड ४५ लाख ९४ हजार, प्रदेशबाट ७६ लाख , आन्तरिक स्रोतबाट १ करोड ९२ लाख , सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमध्ये वित्तीय समानीकरण अनुदानबाट १२ करोड ४९ लाख , समपूरक अनुदानबाट ६० लाख , सशर्त अनुदानबाट  २६ करोड १ लाख , विशेष अनुदानबाट १ करोड १५ लाख रहेको छ । त्यस्तै गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले पालिकाको नीति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सीमित स्रोत साधनका बीच पालिकावासीको प्राथमिकतामा आधारित नीति तथा कार्यक्रम बनाइएको गाउँपालिका अध्यक्ष राजवंशीले बताए । 

सम्बन्धित समाचार