२०८३ बैशाख १६ गते , बुधबार

तीर्थ सिग्देलले बिर्तामोडको इतिहास झल्काउने पुस्तक ल्याउँदै

sajilo news
झापा
२०८० असार १० गते , आईतबार
तीर्थ सिग्देलले बिर्तामोडको इतिहास झल्काउने पुस्तक ल्याउँदै

झापा । बिर्तामोडको इतिहासको खोजमा आधारित तीर्थ सिग्देलद्वारा लिखित बिर्तामोड: उद्भव र विकास नामक पुस्तक प्रकाशन हुने भएको छ । 

यो किताबले बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको बताइएको छ । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित यो पुस्तकले बिर्तामोडको आधा शताब्दीको इतिहास बोकेको लेखकले उल्लेख गरेका छन् । उनले बिर्तामोड त्यही परिवेशमा उदाएको सहर भएकाले त्यही समय सीमा भित्र रहेर पुस्तकभित्र लुकेका तथ्य र नखोजिएका सत्यहरूको उद्घाटन गर्ने प्रयास गरिएको बताए । 

आजको बिर्तामोडको नामकरण र यसको विगत बिर्ता शब्दसँग गएर जोडिन्छ । यो क्षेत्र श्री ३ चन्द्रशमशेरका बडामहारानी र उनका सन्तानहरूको बिर्ता थियो । त्यस कारण यस ठाउँलाई अनारमनि बिर्ता भन्न थालिएको इतिहास छ । अनारमनिमा रहेका बिर्ता जग्गा र जंगलका काठको व्यवस्थापन सम्बन्धी कार्यका अतिरिक्त आवश्यकता अनुसारका काम झापा गोश्वाराको मातहतमा हुने गर्दथ्यो । राणा शासनकाल (वि.स. १९९३ देखि २००७ सम्म) झापाको काठ माल तथा बिर्तामालको लप्टनी र हाकिमीको पदमा रहेका भूपालमानसिंह कार्कीको नामसँग यसको सम्बन्ध देखिन्छ । र, राणाहरूको बिर्ता सम्हाल्न आएका भूपालमानसिंहले यहाँ १४ वर्षसम्म राज गरेको देखिन्छ । 

यो बेला उनका कर्मचारीहरूले यहाँबाट कर उठाउने गरेका थिए । स्थानीय काममालको काठ बिक्री र बिर्तामालका जग्गामा जिम्दारी, पटुवारी र रैतीको व्यवस्था गरी आबाद गुलजार तुल्याउने काम उनले गरेको पाइन्छ ।  बिर्ता बजार राणा शासनको जिल्लाकै प्रशासनिक केन्द्र थियो । बिर्ता बजारमा प्रहरी चौकी, माल अड्डा, कचहरी र भूमिसुधारका जिल्ला कार्यालय थिए । त्यो समयमा एउटा गोलघर समेत बनाइएको थियो, जहाँबाट प्रशासन चलेको थियो भनिन्छ । 

तर अहिले बिर्तामोड ठाउँ व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको हब बनेको छ । योसँगै यस भूगोलले राजनीतिक परिचय पनि बाकेको छ । बिर्तामोड झापा जिल्लाकै राजनीतिक केन्द्र हो । २००७, २०३६, २०४६, २०६२ लगायतका राजनीतिक आन्दोलनमा यस क्षेत्रको योगदानको चर्चा गर्दा समग्र देशमै नाम आउँछ ।

पुस्तकमा बिर्तामोडको राजनीतिक क्षेत्रको संलग्नता, ती घटनामा संलग्नहरू व्यक्तिहरू, सङ्घर्ष र आजको बिर्तामोडको सामाथ्र्यको चर्चा गरिएको छ ।  मूलतः राणा शासन अघिदेखि नै उदाएको यो ठाउँको ऐतिहासिक विवेचनासहित प्रकाशनको अन्तिम तयारीमा रहेका यस पुस्तक इतिहास अध्येताहरूका लागि महत्त्वपूर्ण दस्ताबेज बन्ने आशा प्रकाशन संस्थाले गरेको छ । लेखक सिग्देलको यो छैटौँ कृति हो । पुस्तक असार तेस्रो साता बजारमा आउन लागेको छ ।  

 

सम्बन्धित समाचार