‘झापाको प्रतिविम्ब’ नामक पुस्तक विमोचन
भद्रपुर । जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थान र जनप्रतिनिधिको नाम नम्बरसहितलाई उल्लेख गरेर प्रकाशन गरिएको ‘झापाको प्रतिविम्ब’ नामक पुस्तक शनिवार विमोचन भएको छ ।
लेखक खेमराज दाहालले लामो समयको अध्ययन र आवश्यक तथ्याङ्क सङ्कलन गरेर पहिलोपटक भित्ते पात्रो साइजमा प्रकाशन भएको पुस्तकको भद्रपुरस्थित झापा उद्योग संघको सभा हलमा विमोचन भएको हो ।
पुस्तकको विमोचन संघका अध्यक्ष यामबहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टीकाराज ढकाललगायतले पुस्तकको उपयोगितासहित शुभकामना मन्तव्य राखेका थिए ।
पुस्तक हरेक व्यक्ति तथा संघसंस्थाको लागि अति नै महत्त्वपूर्ण रहेको हल्दिबारी गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेले समीक्षाको क्रममा बताए ।
उनले जिल्लामै भित्ते पात्रो साइजमा निकालिएको यो पहिलो पुस्तक भएको बताए । पुस्तकमा एम्बुलेन्स, दमकल, प्रहरी प्रशासनलगायतका महत्त्वपूर्ण स्थानका टेलिफोन नम्बरसमेत रहेको उनको भनाई छ ।
पुस्तकमा ग्रेटर नेपालको नक्सा, सामान्य ज्ञान र राष्ट्रिय विभूतिहरूको नाम र परिचयसमेत समेटिएको डाइनामिक गुप्रकी अध्यक्ष खगेन्द्रा खुशीले बताइन्। उनले जिल्लाका १५ वटै पालिकाभित्र रहेका पर्यटकीय स्थलहरूको समेत जानकारीसहितका तस्बिर पुस्तकमा राखिएको जानकारी दिइन्।
साहित्यकार कृष्ण सुवेदी निराकारले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा गीता सुवेदी नेपालले कविता र अर्जुन खरेल, नीरज पोखरेलले गीत गाएका थियो ।
कार्यक्रममा मेची बहुमुखी क्याम्पस प्रमुख जीवन पोख्रेल, झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, ओम साई पाथीभरा हस्पिटलका सञ्चालक बालकुमार पोखरेल, देवकोटा स्मृति भवनका अध्यक्ष राजेन्द्र चापागाईँ, स्रष्टा डिल्लीराम नेपाल, लेखनाथ पुस्तकालयका अध्यक्ष हरि न्यौपानेलगायतको उपस्थिति रहेको थियो । अध्यक्ष खुशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार तथा गीतकार देवीचरण भण्डारीले गरेका थिए ।