भद्रपुर नगर सभा आज, एमाले र राप्रपाका जनप्रतिनिधि पनि सहभागी हुने
झापा । नेकपा एमाले र राप्रपाको बहिष्कारपछि रोकिएको भद्रपुर नगर सभाको १२ औं अधिवेशन आज शनिवार हुने भएको छ । शुक्रबार हुने भनिएको नगर सभामा नेकपा (एमाले) र राप्रपाका बहुमत जनप्रतिनिधिहरू असन्तुष्ट जनाउँदै अनुपस्थिति भएपछि बहुमत सङ्ख्या नपुगेपछि नगर सभा एक दिन पछि धकेलिएको थियो ।
नगरपालिकामा दुवै पक्षबीच बसेको लामो छलफल पश्चात् नगर सभामा भाग लिने असन्तुष्ट जनप्रतिनिधिहरू सहमत भएपछि नगर सभा हुन लागेको नगरपालिकाले जनाएको छ । असन्तुष्ट जनप्रतिनिधिहरूले नगर शिक्षा समिति ऐन संशोधन गरी कार्यपालिका बैठकले तोके बमोजिम शिक्षा समिति संयोजक तोक्नुपर्ने, प्रधानमन्त्री स्वरोजगारमा कार्यक्रममा सहभागीहरूलाई बैंकिङ्ग प्रणालीमार्फत भुक्तानी दिनुपर्ने जस्ता माग राखेका थिए । ती मागहरूको विषयमा शुक्रबार बेलुका र शनिवार बिहान दुवै पक्षबीच सकारात्मक छलफल भएको बताइएको छ ।
छलफलमा नगर प्रमुख गणेश पोखरेलले माग सम्बोधन गर्ने विषयमा गल्ती भएको स्विकार्दै हामीले उठाएको मागहरू सम्बोधन गर्ने आश्वासन दिनुभएको एमालेबाट निर्वाचित कार्यपालिका सदस्य विवेक राजवंशीले जानकारी दिए । आज हुने नगर सभामा हामी सहभागी हुने उनले बताए । यस बारेमा हामीले प्रेस विज्ञप्ति पनि जारी गर्न लागेको उनको भनाई छ । नगर सभा स्थगन भएसँगै नगरपालिकाले शुक्रबार नै सूचना जारी गर्दै अधिवेशनमा सहभागी हुन सम्पूर्ण कार्यपालिका, वडा अध्यक्ष, वडा सदस्यहरूलाई जानकारी गराइसकेको थियो । नगर सभा टाइम्स अफ प्रदेशको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने छ ।