कचनकवलका योजनाहरू लुकाउँदै गाउँपालिका, निर्माण स्थलमा छैन बजेटसहितको सूचना पाटी
कचनकवल । कचनकवल गाउँपालिकाभित्रको विकास सम्बन्धी योजनाहरूमा उपभोक्ता समिति तथा निर्माण व्यवसायीले कहीँ कतै सूचना पाटी टाँस नगरेको पाइएको छ ।
योजना निर्माण स्थलहरुमा रुपमा अनिवार्य सम्झौता मिति, सम्पन्न मिति, बजेटसहितको रकम, निर्माण कम्पनीको नाम लगायतका कुरा उल्लेख गर्नुपर्ने हुन्छ । तर, गाउँपालिकाको कुनै पनि योजनाहरूको काममा सूचना पाटी टाँस गरेको छैन । उपभोक्ता समिति तथा निर्माण व्यवासयीहरुले गाउँपालिकाबाट भुक्तानी लिनका लागी मात्र सूचना पाटी टाँस गरेर फोटो खिच्ने र त्यसपछि हटाउने गर्दा पनि गाउँपालिका सम्बन्धित अनुगमन पक्ष लाचार देखिएका छन् ।
अहिले कचनकवल- ६ स्थित बनियानीमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम धमाधम भइरहेको छ । गाउँपालिकाको भवन निर्माण हुँदा पनि सो स्थलमा सूचना पाटी नै छैन । गाउँपालिकाले पुरानो भवनको माथिल्लो तलामा भवन र कम्पाउन्ड घेरावाराको निर्माण कार्य सुरु गरे पनि सम्बन्धी सूचना नराख्दा गाउँपालिकाभित्रको अन्य ठाउँको योजनाहरूको अवस्था कस्तो होला सजिलै अनुमान गर्न सकिन्छ ।
लक्ष्मी मावि बनियानीको नाममा रहेको जमिनमा शिशु खोलामा मलामी घर तथा कम्पाउन्ड वाल निर्माणको कार्य सकिए पनि कसैलाई योजनाको बारेमा अत्तोपत्तो भएन । किनकि त्यहाँ सूचना पाटी नै थिएन ।
स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४ परिच्छेद ३ को कार्यान्वयन तथा व्यवस्थापन अन्तर्गत दफा ११ को भुक्तानी प्रक्रिया उपदफा (७) मा आयोजनाको कुल लागत ३ लाख भन्दा बढी भएका आयोजनाहरूको हकमा उपभोक्ता समितिले काम सुरु गर्नु भन्दा अगावै आयोजनाको नाम, लागत, लागत साझेदारीको अवस्था, काम सुरु र सम्पन्न गर्नु पर्ने अवधि समेत देखिने गरी तयार गरिएको अनुसूची ५ बमोजिमको ढाँचामा आयोजना सूचना पाटी आयोजना स्थलमा राख्नु पर्नेछ भनी उल्लेख गरिएको भए पनि गाउँपालिकाले कार्यविधि कार्यान्वयनमा ल्याएको देखिँदैन ।
५ लाख भन्दा माथिका योजना निर्माण गर्दा सूचना पाटी राख्नु पर्ने प्रावधान भएको र अनुगमन गर्दा सूचना पाटी टाँस नगरेको पाइए भुक्तानी प्रक्रिया रोकिने भए पनि अहिलेसम्म कति वटा योजना रोकियो त्यो भने कसैलाई थाहा नभएको स्थानीयबासीहरु बताउँछन् ।
कचनकवल गाउँपालिका सुशासनको पाटोमा बाहिर देखिने भन्दा ठिक उल्टो रहेको स्थानीयबासीहरुको भनाई छ । उनीहरूले योजनामा मात्र सूचना पाटी टाँस गर्ने मात्र नभई स्वतः प्रकाशन गर्नु पर्ने सूचना समेत प्रकाशन गर्ने नगरेको बताएका छन् । कचनकवल गाउँपालिकाले स्वतः प्रकाशन गर्नु पर्ने सूचना, योजना स्थलमा सूचना पाटी टाँस गर्ने, सबैले देख्ने गरी र बुझ्ने गरी नागरिक बडापत्र राख्ने लगायतका कुनै पनि कार्य नगरेको भन्दै गाउँपालिका सुशासनको पाटोमा कमजोर रहेको स्थानीयहरूको बुझाइ छ ।
गाउँपालिकाले आम सर्वसाधारणलाई सूचना पाउनबाट वञ्चित गरेको, योजनाको लागत रकमको बारेमा जानकारी पाउनबाट वञ्चित गर्दा गाउँपालिकामा बेथिति मौलाएको स्थानीय सरकारकै एक पार्टीका सदस्यले नाम नलेख्ने सर्तमा आरोप लगाएका छन् । गाउँपालिकामा पार्टीभित्रको नातावाद र कृपावादले चरम उत्कर्ष लिएको उनको भनाई छ ।