बिर्तामोड र अर्जुनधारा सिमानामा ढल निर्माणका लागि समिति गठन
बिर्तामोड । बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमानामा रहेको आवास मार्गमा ढल निर्माणको पहल अगाडी बढाउन समिति निर्माण गरिएको छ । बिहीबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईँ र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख
बलदेव तामाङ गोमदेनको नेतृत्वमा अनुगमन गरी पहल समिति निर्माण गरिएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई सहित गरिएको अनुगमनमा अर्जुनधारा ११ का वडाअध्यक्ष खगेन्द्र ईङनामको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको हो । समितिको सदस्यहरूमा बिर्तामोड ५ का वडाअध्यक्ष रोहित प्रसाईँ, अर्जुनधारा ६ का वडाअध्यक्ष हरिसचन्द्र बास्तोला , गोपाल विमली, सुरेन्द्र बहादुर लिम्बु, वीर बहादुर राई र टेकराज सुब्बा रहेका छन् ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईँले बर्खामा डुबानको समस्या रहँदै आएको यस क्षेत्रमा ढल निर्माणका लागि दुवै नगरपालिका सकारात्मक भएकोले समिति निर्माण गरेर पहल अघि बढाएको बताइन् । बिर्तामोड बस पार्क देखि माथिल्लो यस क्षेत्रमा डुबानको समस्या बर्सौँ देखि छ ।