द्रोणाचार्य र प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट चार जना पुरस्कृत
बिर्तामोड । प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उनलाई प्रेस चौतारी झापा र द्रोणाचार्य क्षेत्री स्मृति प्रतिष्ठानले पुरस्कृत गरेको हो ।
द्रोणाचार्य क्षेत्रीको ३० औं स्मृति दिवसको अवसरमा बुधवार काँकडभिट्टामा आयोजित कार्यक्रमबाट पोखरेललाई पुरस्कृत गरिएको हो । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक हुन् । विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील पोखरेल प्रेस चौतारी झापाका पूर्व अध्यक्ष समेत हुन् ।
यस्तै, प्रेस चौतारी झापाले वार्षिक साधार सभाको अवसरमा झापाका तीन जना सक्रिय पत्रकारलाई सम्मान एवम् पुरस्कृत गरेको छ । हिमशिखर टिभीमा कार्यरत पत्रकार सुदिप अधिकारी, खबर खेतीका प्रधान सम्पादक तिलक योञ्जन र रेडियो भिजनकी समाचार वाचिका अस्मिता साखीलाई सक्रिया पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारलाई सम्मान पत्र एवम् नगद पुरस्कार प्रदान गरेका थिए ।कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, कोसी प्रदेश अध्यक्ष अविजाल विष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरूको तर्फबाट पत्रकार गणेश पोखरेल र तिलक योञ्जनले मन्तव्य राखेका थिए । प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।