बिर्तामोडमा भारतीय कारको ठक्करबाट दुई प्रहरी घाइते, चालक फरार
झापाको बिर्तामोडमा भारतीय नम्बर प्लेट भएको कारको ठक्करबाट दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेहरूमा प्रहरी सहायक हवलदार शिवनारायण महतो र प्रहरी जवान दीपेन्द्र गुरुमैता रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय अनारमनिमा कार्यरत घाइतेमध्ये सहायक हवलदार महताको खुट्टा भाँचिएको छ । घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड-६ स्थित बुट्टावारिको प्रहरी बिट नजिकै सवारीसाधन चेकजाँच खटिएका प्रहरीलाई सोमबार राती साढे ८ बजेको समयमा तीव्र गतिमा आएका डब्लु.बी ७४ ए.ए १७९५ नम्बरको कारले ठक्कर दिएका थिए । अगाडि एउटा गाडी चेकजाँच गरिरहेको अवस्थामा पछाडीबाट आएको सो कारले प्रहरीलाई ठक्कर दिएको डीएसपी रिजालले बताए । कार चालक फरार रहेको छ, भने कारभित्र सवार अन्य दुई जना समेत घाइते भएका छन् । दुर्घटनाबाट कारको अगाडि भाग क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।