२०८३ बैशाख १६ गते , बुधबार

शिवसताक्षी नगर प्रमुखलाई काँग्रेसको १८ बुँदे ध्यानाकर्षण पत्र, बजेट पुनर्विचार गर्न माग 

sajilo news
झापा
२०८० असार ५ गते , मंगलबार
शिवसताक्षी नगर प्रमुखलाई काँग्रेसको १८ बुँदे ध्यानाकर्षण पत्र, बजेट पुनर्विचार गर्न माग 

शिवसताक्षी । नेपाली काँग्रेस शिवसताक्षीले सोमबार नगर प्रमुख मेघाहाङ थोप्रालाई ध्यानाकर्षण पत्र बुझाउँदै आगामी आर्थिक वर्ष २०८०/०ं८१ को लागि प्रस्तुत हुन लागेको बजेट पुनर्विचार गर्न माग गरेको छ ।

‘नगरवासीलाई सुशासनको प्रत्याभूति दिन नगर प्रमुखको सकारात्मक पहल कदमी हुने कुरामा नेपाली काँग्रेस विश्वस्त छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । नगर प्रमुख थोप्राको कार्यकक्षमा पुगेर नगर सभापति अशोक बस्नेत नेतृत्वको प्रतिनिधि मण्डलले १८ बुँदाको ध्यानाकर्षण पत्र बुझाएको थियो ।

आगामी आर्थिक वर्ष ०८०/०८१ को योजना तथा कार्यक्रम छनौट गर्दा नगर प्रमुखले एकलौटी ढङ्गले नगरको बजेट केन्द्रीकृत गरेको आरोपमा नेपाली काँग्रेस पाँचौँ पटक नगर प्रमुखको कार्यकक्षमा पुगेको हो । स्थानीय आवश्यक्ताहरुलाई प्राथमिकताका आधारमा छनौट गरी जनताका समस्याहरूलाई सम्बोधन गर्न सबै वडा तथा टोलहरूमा न्यायोचित र समानुपातिक ढङ्गबाट बजेट विनियोजन गर्न नेपाली कांग्रेसले ध्यानाकर्षण पत्र मार्फत माग गरेको छ ।

‘एमालेबाट निर्वाचित जनप्रतिनिधिको बहुमतको आडमा ल्याउन लागिएको बजेटले यस नगरपालिकालाई समृद्ध बनाउन नसक्ने काँग्रेसको ठहर छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट शिवसताक्षी नगरमा निरङकुस तरिकाले ल्याउन लागिएको पनि नेपाली कांग्रेसले ध्यानाकर्षण पत्र मार्फत आरोप लगाएको छ ।

‘नेपाली काँग्रेस जहिले पनि अधिकारको विकेन्द्रीकरणमा विश्वास राख्दछ । तर, शिवसताक्षी नगरपालिकाको आगामी आ.व.२०८०/०८१ को विनियोजित बजेटले वडाहरूको अधिकार कटौती गरी नगर प्रमुख तर्फ केन्द्रीकृत भएको पाइयो । केन्द्रीकृत बजेटले जनसरोकारका मुख्य मुख्य क्षेत्रलाई बेवास्ता गरेको पार्टीको ठहर छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

कतिपय बजेटका शीर्षकहरू स्वार्थ समूहमा केन्द्रित र व्यक्ति केन्द्रित समेत भएको नेपाली कांग्रेसले गम्भीर आरोप लगाएको छ । शिवसताक्षी नगरपालिकाको नगर बोर्डले पारित गरेको ०८०/०८१ को बजेट नगरको विकासमा योगदान पु¥याउन नसक्ने ठहर गरी उक्त बजेटलाई लोकतान्त्रिक न्यायोचित र विकेन्द्रित वितरण प्रणालीको रुपमा शुद्धीकरण गर्न र सच्याउन नेपाली कांग्रेसले नगर प्रमुख सँग माग गरेको छ । नगरको बोर्ड बैठकले गएको असार ३२ गते बहुमतले बजेट पास गरेको थियो ।

नगरका ११ वडाहरू मध्ये पाँच जना वडाध्यक्षले विनियोजन बजेट प्रतिअसहमति जनाउँदा जनाउँदै बहुमतबाट पारित गरिएको प्रक्रियाप्रति नेपाली काँग्रेसले असन्तोष जनाएको छ । वडा नम्बर ३ का भास्कर न्यौपाने, ६ का मनोज खुलाल, ७ का भवानी चेम्जोङ, ८ का सन्तकुमार फेउदिन र ९ का डिल्ली फेम्बोले बजेट माथि फरक मत राखेका थिए ।

चालु आर्थिक वर्षको ७५ लाख वडा सिलिङ बजेटलाई खुम्च्याएर ६० लाख मात्र वितरण गर्नु न्याय सम्मत नभएको काँग्रेसको गुनासो छ । तर, २० लाख वडा विशेष बजेटमा विनियोजन बोर्डले गरेको छ । यो अंकलाई वृद्धि गरी ४० लाख पुर्‍याउन नगर प्रमुखको ध्यानाकर्षण नेपाली कांग्रेसले गराएको छ ।

बजेट निर्माणमा सरोकारवाला समूह, स्थानीय पार्टी प्रतिनिधि र विज्ञ समूहसँग विभिन्न प्रकारका अन्तरक्रिया, विकासमा जनताको सहभागिता र अपनत्वको आभास हुने वातावरण तयार गर्न नगर प्रमुख सँग माग गरेका छन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठावान्, चन्द्रडाँगी कृषि विकास फर्मलाई कृषि क्याम्पस बनाउन आवश्यक प्रक्रियाका लागि बजेट विनियोजन गर्न उनीहरूले माग गरेका छन् ।शिवसताक्षी नगरपालिका अन्तर्गतका त्रिधामको संरक्षण, सम्बद्र्धन प्रवर्धन गर्नका लागि आवश्यक बजेट छुट्याउन नेपाली कांग्रेसले माग गरेको छ ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबिएस अध्ययन गर्न छात्रवृत्ति, राष्ट्रिय स्तरका खेलाडीलाई प्रोत्साहन र पुरस्कृत, नगरपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च बापत रु २५ हजार नगदै रकम प्रदान गर्ने आवश्यक बजेटका प्रबन्ध गर्न पनि नेपाली कांग्रेसले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

नगरले ल्याउन लागेको बजेटमा नगर प्रमुख थोप्राले निर्वाचनताका गरेका बाचा मध्ये जग्गा धनी प्रमाण पुर्जाका बारेमा आंशिक रुपमा मात्र बजेट विनियोजन गरेको भन्दै त्यसलाई प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । नगर प्रमुखले आम नगरवासीको प्राथमिकतामा रहेको समस्याका लागि ५ लाख मात्र बजेट छुट्याउनु भएको हामीले बुझेका छौँ । यो अपर्याप्त हो,’ पार्टी सभापति बस्नेतले भने ।

विज्ञान र कानुन अध्ययन गर्ने विद्यार्थी नगर बाहिर जानुपर्ने समस्याको दीर्घकालीन समाधान गर्न पार्टीले अनुरोध गरेको छ । नगरका सामुदायिक विद्यालयमा पर्याप्त पूर्वाधार छ । ती पूर्वाधारको अधिकतम उपयोग गरेर विज्ञान र कानुनका कक्षा सञ्चालन गर्न नेपाली कांग्रेसले माग गरेको छ ।  क्यान्सर पीडित, मिर्गौला, पक्षघात जस्ता गम्भीर प्रकृतिका बिरामीलाई मासिक ५ हजार, औषधी उपचार खर्च दिन पनि नेपाली कांग्रेसले नगर प्रमुखको ध्यानाकर्षण गराएको  छ । 

 

सम्बन्धित समाचार