२०८३ बैशाख १६ गते , बुधबार
झापाको कनकाई नदीमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
केही दिनदेखिको अविरल वर्षाका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । अविरल वर्षाका कारण झापाको कनकाईसहित तमोर र अरुणमा नदीमा पानीको बहाव उल्लेख्य बढ्ने देखिएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको छ । नेपाल बाढी सूचना केन्द्रका अनुसार ती नदीहरूमा आगामी तीन दिन जल सतह सतर्कता तह आसपास रहने पूर्वानुमान गरिएको हो ।
उक्त नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक भएको र आसपासका बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ । केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेको पनि उल्लेख गरिएको छ ।
खोला आसपासका बासिन्दाहरूलाई सतर्क रहन मोबाइलबाट एसएमएस आउने गरेकोले स्थानीयहरूलाई फाइदा पुगेको छ । कनकाई नदीमा दोमुखा क्षेत्रमा पानीको बहाव समेत बढ्दै गएको छ ।