कचनकवलमा म्याद गुज्रेको औषधी वितरण गर्ने तीन जना स्वास्थ्यकर्मी निलम्बित
कचनकवल । कचनकवल गाउँपालिकाले म्याद गुज्रेको औषधी वितरण गर्ने तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको बारेमा जानकारी गराएको हो ।
निलम्बनमा पर्नेहरूमा हेल्थ असिस्टेन्ट, एग्जुलरी हेल्थ वर्कर र फार्मेसी सहायक रहेका छन् । साथै गाउँपालिकाले घटनाको सत्य तथ्य छानबिनका लागि छानबिन समिति समेत गठन गरिसकेको छ । समितिको प्रतिवेदनको आधारमा दोषी ठहरिए स्वास्थ्यकर्मीहरूलाई थप कारबाही अगाडी बढाउने जनाइएको छ ।
गत जेठ ३१ गते प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा उपचारका लागि गएकी ६ वर्षीया बालिकालाई त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले सन् २०२३ मे लेखिएको इन्टाजिल औषधि वितरण गरिएको थियो ।
म्याद गुज्रेको औषधी वितरण गरेपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको थियो । त्यसपछि गाउँपालिकालाई घटना विषयमा गम्भीर ध्यानाकर्षण भएको थियो । गाउँपालिकाले घटना भएको भोलिपल्टै प्राथमिक स्वास्थ्य केन्द्रमा बैठक बोलाएर छानबिन समिति गठन गरेको थियो ।