२०८३ बैशाख १६ गते , बुधबार

वैदेशिक रोजगारी जानेमा झापा पहिलो स्थानमा

sajilo news
झापा
२०८० असार ४ गते , सोमबार
वैदेशिक रोजगारी जानेमा झापा पहिलो स्थानमा

भद्रपुर  । झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने देशकै पहिलो नम्बरमा रहेको पाइएको छ । वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रम भद्रपुरको तथ्यांकले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको विवरण अनुसार झापाबाट रोजगारीका लागि विदेश यात्रा गर्नेको सङ्ख्या फागुनमा २७३५, चैत्रमा २८२३ र वैशाखमा २३१५ रहेको छ । त्यति झापालीहरू वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा गएको देखिन्छ । जुन देशकै सबैभन्दा बढी सङ्ख्या हो ।
झापाबाट रोजगारीका लागि प्रमुख गन्तव्य खाडी मुलुक देखिएको छ भने युरोप, अमेरिका तथा अस्ट्रेलिया जाने कामदारको सङ्ख्या पनि बढ्दै गइरहेको पाइए पनि ठगिने क्रम सोही रफ्तारमा रहेको देखिन्छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका भद्रपुर संयोजक फणीन्द्रप्रसाद दाहालका अनुसार कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच, सीप तालिममा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सेवामार्फत वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सबलीकरण गर्दै आइरहेको छ । उनका अनुसार चालु आर्थिक वर्षमा २९ जना व्यक्तिलाई तालिममार्फत सीपमा पहुँच प्रदान गरी वैदेशिक रोजगारमा जाने दक्ष कामदार बनाइएको छ भने ठगीमा परेका ११० जनामध्ये ३४ जना कामदारलाई न्यायमा पहुँच पुर्‍याउँदा १६ लाख ९५ हजार रकम क्षतिपूर्ति भराइएको छ ।

राज्य पक्षले वैदेशिक रोजगारीलाई अपनत्व ग्रहण गर्न नसक्दा र ठगी गर्नेहरू दिनदिनै बढ्दो रूपमा सक्रिय हुँदा सेवाग्राही मारमा परेका छन् । देशकै उच्च जनशक्ति उत्पादक झापा जिल्लामा श्रम शक्तिको उचित व्यवस्थापन हुन नसक्दा काम खोज्दै बिदेसिनेको सङ्ख्या बढिरहेको पाइन्छ ।

सम्बन्धित समाचार