२०८३ बैशाख १६ गते , बुधबार

अर्जुनधारामा कछुवा संरक्षण सम्बन्धी अन्तरक्रिया

sajilo news
झापा
२०८० असार ३ गते , आईतबार
अर्जुनधारामा कछुवा संरक्षण सम्बन्धी अन्तरक्रिया

अर्जुनधारा । अर्जुनधारा नगर पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा कछुवा संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीयस्तरमा कछुवा संरक्षण बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक शाखाका प्रमुख पदमलाल राईले बताए ।

अर्जुनधारा–९स्थित सुखानी शहीद स्मृति उद्यानको सभा हलमा आयोजित उक्त कार्यक्रमको उपप्रमुख एवम् कार्यक्रमकी अध्यक्ष खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

स्थानीय नमुना सामुदायिक वन उपभोक्ता समूह सहआयोजक र उद्यान तथा कछुवा उद्धार तथा संरक्षण केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा सहजकर्ता केन्द्रका संयोजक तपिल प्रकाश राईले सहजीकरण गरेका थिए ।

जनप्रतिनिधि, उद्यानका पदाधिकारी तथा सदस्य र समूहका उपभोक्तासहित जम्मा एक सय १० जनाको सहभागिता रहेको कार्यक्रममा कछुवाको परिचय, कछुवा संरक्षण गर्नुपर्ने आवश्यकता र महत्त्व, आर्को नेपालको स्थापना, कछुवा उद्धार तथा संरक्षण केन्द्रको स्थापना र गतिविधिलगायतका विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य एवम् प्रवक्ता भूपेन्द्र न्यौपाने, उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंक बराल, व्यवस्थापक रुद्रमणि सुवेदीलगायतले कछुवा संरक्षणको विषयमा धारणा राखेका थिए ।

नगर कार्यपालिकाकी सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।

सम्बन्धित समाचार