बिर्तामोड नगर अस्पतालमा बालरोग विशेषज्ञ सेवा
बिर्तामोड नगर अस्पतालमा बालरोग विशेषज्ञ सेवा थप गरिएको छ । असार १ गते शुक्रवार देखि बालरोग विशेषज्ञ सेवा सुरु गरिएको हो ।शनिवार बाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म यो सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.सुनिल अधिकारीले जानकारी दिनु भयो । उनले बाल रोग सम्बन्धीका रोगहरू अब विशेषज्ञ डाक्टर रविन रेग्मीले जाँच गर्ने बताए ।
नगर अस्पतालमा २४सै घण्टा निशुल्क नर्मल डेलिभरी (प्रसूति) सेवासमेत सुरु हुने भएको छ । असार ३ गते आइतबार भोली देखि डेलिभरी सेवा सुरु गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले जानकारी दिए । उनले केही समयपछि स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा पनि सुरु गर्ने बताए ।
नगर अस्पतालमा सेवा थपिने क्रम बढ्दो छ । आवश्यक पूर्वाधार र सेवा विस्तार हुँदै गएपछि अस्पतालमा दैनिक ३ सय ५० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिइरहेका छन् । अस्पतालमा डाइलोसिस सेवा र २४ सै घण्टा इमरजेन्सी सेवाको तयारी समेत अन्तिम चरणमा पुगेको जनाइएको छ ।
अस्पतालमा हाल दैनिक एमडीजिपी (मेसु) डा. अधिकारी र बालरोग विशेषज्ञ डाक्टर रेग्मी गरी २ जना विशेषज्ञ, ३ जना मेडिकल अधिकृत, ल्यावटेक्नोलोजिष्ट, एसबिए तालिम प्राप्त नर्स सहित ३६ जनाले सेवा दिइरहेका छन् ।
अस्पतालमा सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याब,बच्चाहरूको नियमित खोप लगायतका सेवाहरू पनि उपलब्ध छन् ।निकट भविष्यमा नै रेबिजको भ्याक्सिन र थाइराइट टेस्टसमेत हुने जनाइएको छ ।
नगर अस्पताललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन अर्को भवनसमेत निर्माणाधीन अवस्थामा छ । अस्पताल सुविधा सम्पन्न भएपछि सर्वसाधारणले निजी अस्पतालहरूमा महँगो मूल्यमा चेक जाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्ने छ ।