बाहुण्डाँगी स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
मेचीनगर । मेचीनगर नगरपालिका ४ स्थित बाहुण्डाँगी स्वास्थ्य चौकीमा आजदेखि प्रयोगशाला (ल्याब) सञ्चालनमा आएको छ । स्वास्थ्य क्षेत्रमा पछि पर्दै आएको मेचीनगर ४ स्थित बाहुण्डाँगी स्वास्थ्य चौकीमा शुक्रबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले ल्याबको उद्घाटन गरेका हुन् । अब बाहुण्डाँगी स्वास्थ्य चौकीबाट सेवाग्राहीले रगत परीक्षण लगायतका सेवामा सहज भएको छ ।
बाहुण्डाँगी स्वास्थ्य चौकीमा सेवा थपिएसँगै अब मेचीनगर ४ का मात्रै नभई साबिक बाहुण्डाँगी गाविस क्षेत्रका सबै नागरिकले लाभ लिन सक्ने छन् । नगरका सम्पूर्ण नागरिकहरूलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन आफूहरू लागि परेको बताउँदै मेयर बुढाथोकीले भने, 'अब मेचीनगरवासीले स्थानीय क्षेत्रमा नै सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरका स्वास्थ्य शाखा, उपशाखा र स्वास्थ्य चौकीमा विभिन्न सेवाहरू थप्दै जाने लक्ष्य राखिएको छ ।'
सेवा शुभारम्भ कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर सामाजिक विकास शाखा प्रमुख वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश बस्ती, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सावित्रा सापकोटा, पूर्व बाहुण्डाँगी गाविस अध्यक्ष नीलकण्ठ तिवारीलगायतको आतिथ्य रहेको थियो ।